नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले सेप्टेम्बर-अक्टोबरमा जापानमा हुने एशियन गेम्समा हिस्सा लिनेछन्। भारतीय एथलेटिक्स महासंघ (एएफआई)-को चयन समितिका अध्यक्ष आदिल सुमारीवालाले यस खबरको पुष्टि गरेका छन्। दुईपल्टका ओलम्पिक पदक विजेता २८ वर्षीय नीरज चोटमुक्त भएर हालै खेलमा फर्किएका छन्। गत वर्ष सेप्टेम्बरमा टोक्यो वर्ल्ड च्याम्पियनशीपको अवधि उनको ढाड़को तल्लो हिस्सामा चोट लागेको थियो। यसैकारण उनले ढिलो गरी सीजनको शुरुवात गर्दै गत शुक्रवार दोहा डायमण्ड लीगमा हिस्सा लिएका थिए, जहाँ उनले ८५.६९ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ चौथो स्थान हासिल गरेका थिए। नीरजले कमनवेल्थ गेम्समा हिस्सा लिने अगावै घोषणा गरे पनि १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म आईची-नागोया (जापान)-मा हुने एशियन गेम्समा खेल्नेबारे चाहिँ स्पष्ट केही बताएका थिएनन्। यसपाली सुमारीवालाले भने, नीरजले कमनवेल्थ र एशियन गेम्स दुवैमा हिस्सा लिनेछन्। उनले अगावै क्वालीफाई गरिसकेका छन् अनि अहिले तयारी गरिरहेका छन्। उनले आफ्नो पहिलो इभेण्टमै ८५.६९ मीटरको थ्रो गरे, जुन असाधारण कुरा हो। नीरजले चीनमा भएको गत एशियन गेम्समा ८८ मीटर (८८.८८ मीचर)-को थ्रो गरी स्वर्ण पदक जितेका थिए अनि अहिले उनी अगावै ८६ मीटरको नजिक पुगिसकेका छन्। यसैकारण उनले कमनवेल्थ र एशियन गेम्समा असल प्रदर्शन गर्न नसक्ने म कुनै कारण देख्दिनँ। एएफआईको चयन समितिद्वारा आयोजन गरिएको राष्ट्रिय अन्तर-राज्यीय सीनियर एथलेटिक्स च्याम्पियनशीपको अन्तिम दिन (आइतवार) एशियन गेम्सको निम्ति भारतीय टीमको घोषणा गरिने सम्भावना छ।










