गान्तोक: राजदरवार परिसरको चुकलाखाङ गुम्पामा बौद्ध भिक्षुहरूको निम्ति स्वास्थ्य जाँच शिविर आयोजन गरियो। सिक्किमको १२औं मिवाङ छोग्याल पाल्देन थोन्डुप नामग्यालको जन्म सतवार्षिकीको अवसरमा आयोजना गरिएको थियो। चुकलाखाङ ट्रस्टको आयोजनमा सिक्किम केमिस्ट एसोसिएशन र एसटीएनएमका चिकित्सकहरूको टोलीले राजदरवार परिसरमा रहेको गुम्पामा बौद्ध शिक्षा अध्यायन गर्ने बाल भिक्षु लगायात बौद्ध लामाहरूको स्वास्थ्य जाँच र निःशुल्क उपचार आयोजन गऱ्यो।
यस अवसरमा राजकुमारी होप लिजुम नामग्याल विशेष रूपमा उपस्थित थिइन्। उनले ट्रस्ट र केमिस्ट एसोसिएशनलाई यो असल पहलको निम्ति आभार प्रकट गरिन्। भिक्षुहरूमा देखिएको विभिन्न आँखा, दाँत र त्वचा सम्बन्धी समस्याहरूको जाँच र उपचार गरिने जानकारी दिइन्।
यसै गरी, चिकित्सक डा. शिव कुमार राईले यस प्रकारको जाँच शिविर पहिलेदेखि नै सञ्चालन गर्दै आइरहेको बताए। उनले आजको शिविरमा १ सय चार जना लामाको स्वास्थ्य जाँच गरिएको अनि दाँत र त्वचाको समस्यादेखिएको बताए। आजको स्वास्थ्य जाँचमा आँखा, दाँत, बाल चिकित्सा, त्वचाको रोगका विशेषज्ञहरूले सहभागिता दिएको जानकारी दिए।
चिकित्सा शिविरमा लाभान्वित बनेका लामाहरूलाई उपचारसितै औषधीको पनि व्यवस्था गरिएको थियो। यस शिविरमा चिकित्सकहरूले जाँचमा सहयोग पुऱ्याए भने संगठनहरूले औषधी प्रदान गरेका थिए।