‘आरक्षण समाप्त गर्नु नै सरकारको असली निशाना हो’: कांग्रेस

3ad9440d-de8c-42f7-9096-abd5a51ea435

नयाँ दिल्ली: भारतमा विपक्षी दलहरूलाई फुटाएर राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आफ्नो शक्ति बढाएसँगै राजनीतिक सरगर्मी बढेको छ। आगामी मनसुन सत्रमा दुई-तिहाइ बहुमत जुटाएर सरकारले महिला आरक्षण र निर्वाचन क्षेत्र निर्धारण (परिसीमन) सम्बन्धी विधेयक ल्याउन सक्ने चर्चा चलिरहेका बेला मुख्य विपक्षी दल कांग्रेसले सरकारमाथि गम्भीर आरोप लगाएको छ।
​कांग्रेसले नरेन्द्र मोदी सरकारले महिला आरक्षण लागू गर्ने बहानामा दुई-तिहाइ बहुमत जुटाउन खोजेको र यसको भित्री उद्देश्य आरक्षण व्यवस्था नै समाप्त गर्नु रहेको आरोप लगाएको छ।
​कांग्रेस महासचिव जयराम रमेशले सरकार वास्तवमै महिला आरक्षणप्रति गम्भीर भए मौजूदा ५४३ लोकसभा सिटमध्ये एक-तिहाइ सिट महिलाका लागि आरक्षित गर्न सक्ने बताएका छन्। यसका लागि सिट संख्या बढाउन वा परिसीमनको प्रक्रियासँग महिला आरक्षणलाई जोड्न आवश्यक नभएको उनको भनाइ छ।
​”विपक्षी दलहरूलाई तोडफोड गरेर दुई-तिहाइ बहुमत हासिल गर्ने प्रयास भइरहेको छ, ताकि संविधानमा व्यापक संशोधन गरेर आरक्षण नै खारेज गर्न सकियोस्,” रमेशले भने, “तात्कालिक लक्ष्य परिसीमन देखिए पनि असली निशाना आरक्षण नै हो।”
​कांग्रेसले मौजूदा लोकसभा सिट संख्यालाई बढाएर ८०० भन्दा बढी पुर्‍याउने सरकारको सम्भावित तयारीप्रति पनि प्रश्न उठाएको छ। सिट संख्या बढाउँदा संसदको कार्यप्रणाली र राज्यसभामा कस्तो असर पर्छ भन्नेबारे सरकारले स्पष्ट जवाफ नदिएको कांग्रेसको आरोप छ। विपक्षी दलहरूले महिला आरक्षणको विरोध नगरेको बरु परिसीमन सम्बन्धी प्रावधानको मात्र विरोध गरेको रमेशले स्पष्ट पारेका छन्।

About Author

Advertisement