विद्रोही गुटद्वारा नयाँ राष्ट्रिय कार्यसमिति गठन
कोलकाता: तृणमूल कांग्रेसभित्र चलिरहेको कचिङ्गल एकाएक अझ चर्केर गयो, जब विधानसभामा विरोधी दलका नेता ऋतब्रत बनर्जीको नेतृत्वमा रहेको विद्रोही गुटले पार्टीको नयाँ राष्ट्रिय कार्यसमिति गठन गरेर ममता बनर्जीलाई चेयरम्यान पदबाट हटाएको दाबी गरिदियो।
कुरा यतिमा मात्र रोकिएन, विद्रोही गुटले अभिषेक बनर्जीलाई पनि राष्ट्रिय महासचिव पदबाट हटाउने घोषणा गरेको छ। न्यूटाउनको एउटा होटलमा बसेको बैठकमा हावड़ा मध्यका विधायक अरूप रायलाई नयाँ कार्यसमितिको चेयरम्यान चुनिएको छ। विद्रोही खेमाको भनाइअनुसार, तृणमूलको संविधानको धारा २० बमोजिम प्रत्येक तीन वर्षमा राष्ट्रिय कार्यसमिति गठन गर्नु अनिवार्य छ, तर २०२२ देखि यस्तो गरिएको छैन। यही आधारमा पुरानो कमिटी भङ्ग गरेर ३० जना सदस्य रहेको नयाँ एक्जीक्यूटिव कमिटी अनि ११ सदस्यीय कोर कमिटी बनाइएको छ।
यस नयाँ कमिटीमा अरूप विश्वास, फिरहाद हकिम, रथीन घोष अनि सबीना यासमीनलाई उपाध्यक्ष बनाइएको छ भने ऋतब्रत बनर्जी, जावेद खान अनि संदीपन साहालाई महासचिवको जिम्मा दिइएको छ। यसै गरी, अखरुज्जमांलाई कोषाध्यक्षको भार सुम्पिएको छ। सूत्रका अनुसार, यस बैठकमा लगभग ६० जना विधायकका साथै कोलकाताका झन्डै ७० जना पूर्व पार्षद अनि धेरै वटा जिल्लाका विद्रोही पार्षदहरूको उपस्थिति रहेको दाबी गरिएको छ।
विद्रोही गुटले यसलाई “असली तृणमूल”-को साङ्गठनिक पुनर्रचना भनेका छन् अनि यसै मामिलालाई लिएर उनीहरू चाँडै चुनाव आयोग जाने तयारीमा छन्। तरै पनि, ममता गुटले भने यसलाई कुनै मान्यता दिन अस्वीकार गरेको छ। तृणमूल विधायक कुणाल घोषले यसलाई कटाक्ष गर्दै भने, “यो त एउटा कमेडी शो मात्र हो। तृणमूलबाट निकाला भइसकेको एउटा मान्छेले विशेष सत्र बोलाएर उपद्रो गरिरहेछ। मामिला अदालतमा छ अनि हामीलाई न्यायमाथि पूरा भरोसा छ।”











