काेलकाता: मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको दूरदर्शी नेतृत्वमा माननीय अर्थमन्त्री डा. स्वपन दासगुप्ताद्वारा प्रस्तुत गरिएको सन् २०२६ को राज्य बजेटलाई उद्योग क्षेत्रले निकै उत्साहका साथ ऐतिहासिक स्वागत गरेको छ।
भारतकै एक प्रतिष्ठित औद्योगिक प्रतिष्ठान ‘प्याटन इन्टरनेसनल लिमिटेड’ का प्रबन्ध निर्देशक श्री सञ्जय बुधियाले यस बजेटमाथि आफ्नो आधिकारिक प्रतिक्रिया दिँदै यसलाई ‘सबै क्षेत्र र सबै वर्गका लागि सर्वसमावेशी एवं दूरगामी बजेट’ को संज्ञा दिनुभएको छ।
प्याटन इन्टरनेसनलका तर्फबाट जारी गरिएको प्रेस वक्तव्यमा प्रबन्ध निर्देशक श्री बुधियाले यस बजेटले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता राज्यका हरेक महत्वपूर्ण आयामलाई बराबर प्राथमिकता दिएर एउटा सन्तुलित विकासको जग बसालेको उल्लेख गर्नुभएको छ।
बजेटको विस्तृत विश्लेषण गर्दै उद्योगपति श्री बुधियाले राज्यमा हुन गइरहेको पूर्वाधार विकासको क्रान्तिले बंगालको आर्थिक रूपरेखालाई पूरै बदलिदिने विश्वास व्यक्त गर्नुभयो। कल्याणीमा नयाँ ग्रीनफिल्ड एयरपोर्टको स्थापना, पुरुलिया, बालुरघाट र माल्दामा नयाँ विमानस्थलहरूको निर्माण, कोचबिहार विमानस्थलको विस्तार, नयाँ डीप-सी पोर्ट (गहिरो समुद्री बन्दरगाह), डेडिकेटेड फ्रेट करिडोर, लजिस्टिक हब, औद्योगिक पार्क र विशेष गरी दुर्गापुरमा स्थापना हुन लागेको सेमिकन्डक्टर उत्पादन एकाइ जस्ता ठूला योजनाहरू बंगालको आर्थिक समृद्धिका लागि लामो समयदेखि पर्खिएका र अत्यन्तै आवश्यक कदमहरू हुन्। यी परियोजनाहरूले भविष्यमा रोजगारी र व्यापारका अनगिन्ती अवसरहरू सिर्जना गर्ने उहाँको भनाइ छ।
यसका साथै, लामो समयदेखि उद्योग र लगानीकर्ताहरूले माग गर्दै आएका नीतिगत सुधारहरूलाई यस बजेटले उचित सम्बोधन गरेकोमा पेटनका प्रबन्ध निर्देशकले खुसी व्यक्त गर्नुभयो। कडा भूमि हदबन्दी ऐनमा गरिने भनिएको सुधार, औद्योगिक प्रोत्साहनको पुनर्बहाली, ऐतिहासिक कलकत्ता स्टक एक्सचेन्जको पुनरुत्थान, र स्थानीय उत्पादनलाई बढावा दिन ल्याइएको ‘एक जिल्ला, एक उत्पादन’ जस्ता नीतिहरू उद्योग जगतका लागि ‘कानमा मीठो सङ्गीत गुन्जिए जस्तै’ सुखद र उत्साहजनक रहेको उहाँले बताउनुभयो। झन्झटिलो सरकारी प्रक्रिया, अनावश्यक प्रशासनिक बाधा र स्वीकृतिका अड्चनहरूलाई हटाएर व्यापार-व्यवसायलाई सहज बनाउने सरकारको यो ठोस निर्णयले नयाँ लगानीकर्ता र उद्यमीहरूलाई राज्यतर्फ आकर्षित गर्न ठूलो ऊर्जा प्रदान गर्नेछ।
विशेष गरी दार्जीलिङ पहाड, डुवार्स, तराई र समग्र राज्य छोडेर रोजगारी वा अन्य अवसरको खोजीमा बाहिरिएका प्रवासी नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई सम्बोधन गर्दै उद्योगपति श्री सञ्जय बुढियाले एउटा भावनात्मक एवं बलियो अपिल गर्नुभएको छ।
उहाँले यो बजेट राज्य बाहिर रहेका हाम्रा सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूका लागि एउटा ठूलो र स्पष्ट आह्वान भएको बताउनुभयो, जसले गर्वका साथ भन्छ, ‘बंगाल अब बिजनेसका लागि पूर्ण रूपमा तयार छ’। उहाँले प्रवासीहरूलाई आफ्नो थातथलोमा फर्किन र यहाँ सिर्जना भएका नयाँ सम्भावना र अवसरहरूलाई आफ्नो क्षमता र अनुभवद्वारा यथार्थमा बदल्न आग्रह गर्नुभयो।
वर्तमान सरकारको सोच र यो बजेटले राज्यमा एउटा नयाँ उमङ्ग, अभूतपूर्व काम गर्ने गति र सोचेका योजनाहरूलाई तुरुन्तै धरातलमा लागू गर्ने सकारात्मक तत्परता ल्याएको हुनाले अब बंगालको भविष्य निकै उज्ज्वल रहेको दाबी समेत पेटन इन्टरनेसनलका प्रबन्ध निर्देशक श्री सञ्जय बुधियाले गर्नुभएको छ।










