४ निर्वाचन क्षेत्रमा नयाँ केन्द्रहरू थपिए
पाकिम: सिक्किमको पाकिम जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लाका मतदान केन्द्रहरूको पुनर्गठन (र्यासनलाइजेसन) लाई अन्तिम रूप दिनका लागि एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। निर्वाचन दर्ता अधिकारी (ईआरओ) तथा अतिरिक्त जिल्लापाल सविन्द्र राई र निर्वाचन दर्ता अधिकारी एवं उपविभागीय मजिस्ट्रेट थेन्डुप लेप्चाको उपस्थितिमा आयोजित उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र सम्बद्ध निर्वाचन अधिकारीहरूको सहभागिता रहेको सूचना तथा जनसम्पर्क विभागले जनाएको छ। बैठकमा भारतीय निर्वाचन आयोगको निर्देशिका र मापदण्डका आधारमा जिल्लाभरिका मतदान केन्द्रहरूको संख्या र तिनको भौतिक अवस्थालाई व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरी अन्तिम रूप दिइएको थियो।
बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल सविन्द्र राईले मतदाताहरूलाई सहज हुने गरी मतदान केन्द्रहरूको पुनर्गठन गर्नका लागि तय गरिएका नियमहरूबारे प्रकाश पार्नुभयो। उहाँले जिल्लामा जारी मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर) कार्यको प्रगतिको समीक्षा गर्दै यस प्रक्रियालाई तोकिएको समयसीमा भित्रै सम्पन्न गर्नका लागि फारमहरूको डिजिटल प्रविष्टीकरण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो। यसैगरी अर्का निर्वाचन दर्ता अधिकारी थेन्डुप लेप्चाले मतदाता नक्साङ्कन (भोटर म्यापिङ) का क्रममा देखिएका प्राविधिक समस्याहरूबारे जानकारी गराउँदै अझै पनि प्रमाणीकरण हुन बाँकी रहेका मतदाताहरूको पहिचान गर्न राजनीतिक दलका प्रतिनिधि र बुथ स्तरका एजेन्ट (बीएलए) हरूलाई सहयोगका लागि अपिल गर्नुभयो।
जनप्रतिनिधित्व ऐन १९५१ को प्रावधान अनुसार पाकिमका जिल्ला निर्वाचन अधिकारीले जिल्लाका चारवटा विधानसभा निर्वाचन क्षेत्रका लागि नयाँ मतदान केन्द्रहरूको संशोधित सूची स्वीकृत भएको जानकारी दिएका छन्। जस अन्तर्गत वेस्ट पेन्डम निर्वाचन क्षेत्रमा दुईवटा तथा चुजाचेन, ज्ञाथाङ-माचोङ र नाम्चेबुङ निर्वाचन क्षेत्रमा एक-एकवटा गरी नयाँ मतदान केन्द्रहरू थपिएका छन्। निर्वाचनलाई थप सुगम, मर्यादित र पहुँचयोग्य बनाउनका लागि भारतीय निर्वाचन आयोगले यो नयाँ व्यवस्थालाई अनुमोदन गरेको हो। यस बैठकमा रेगुका बीडीओ अनिल गिरी, दुगाका बीडीओ छोपेल भोटिया, नाम्चेबुङका बीडीओ राजेश दाहाल र निर्वाचन विभागका उपसचिव रघुनाथ क्षेत्री लगायत विभिन्न दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।










