गान्तोक: सिक्किम राज्य निर्वाचन आयोग (एसईसी) द्वारा हालै सम्पन्न ‘सिक्किम साधारण नगरपालिका निर्वाचन २०२६’ मा प्रयोग गरिएका इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) हरू आज मध्य प्रदेश फिर्ता पठाइएको छ। गान्तोकको बर्तुक हेलिप्याडमुनि रहेको लेप्चा आदिम जनजाति छात्राबासमा स्थापना गरिएको सुरक्षित भण्डार गृह (वेयरहाउस) लाई आज बिहान सवा आठ बजे औपचारिक रूपमा खोलिएको हो। सिक्किम राज्य निर्वाचन आयोगका अतिरिक्त निर्देशक सम्देश मोक्तान, उपसचिव राजेन्द्र राई, प्रहरी कर्मचारीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा उक्त भण्डार गृहको सिल खोलिएको सूचना तथा जनसम्पर्क विभागले जनाएको छ। सिल खोलेपछि निर्वाचन अधिकारीहरूले ईभीएमको लगत रुजु तथा कागजी प्रक्रिया पूरा गरी तोकिएका सवारी साधनहरूमा लोड गराएर गन्तव्यतर्फ प्रस्थान गराएका थिए।
सिक्किम राज्य निर्वाचन आयोग र मध्य प्रदेश राज्य निर्वाचन आयोगबीच भएको द्विपक्षीय सम्झौता बमोजिम सिक्किमको स्थानीय निकाय निर्वाचन सम्पन्न गर्नका लागि मध्य प्रदेशबाट ४०० सेट ईभीएम उपलब्ध गराइएको थियो। निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि विगत चार महिनादेखि यी मेसिनहरूलाई गान्तोकको बर्तुकस्थित गोदाममा कडा सुरक्षाका साथ भण्डारण गरी राखिएको थियो। सम्झौताको प्रावधान अनुसार नै ती मेसिनहरू अहिले मध्य प्रदेश राज्य निर्वाचन आयोगलाई फिर्ता गर्न लागिएको निर्वाचन कार्यालयले प्रष्ट पारेको छ।
गान्तोकबाट पठाइएका यी ४०० सेट ईभीएमहरू मध्य प्रदेशको सिंग्रोली जिल्लास्थित वैधनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पुर्याइनेछ। ईभीएम बोकेका सवारी साधनहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण यात्रा अवधिभर सिक्किम प्रहरीका सशस्त्र जवानहरू र निर्वाचन अधिकारीहरूको टोलीले स्कर्टिङ (सुरक्षा पहरा) गर्ने व्यवस्था मिलाइएको छ। मध्य प्रदेशको तोकिएको सुरक्षित स्थानमा नपुगुन्जेल यो टोली गाडीहरूसँगै रहनेछ। यस स्थानान्तरणसँगै सिक्किममा हालै सम्पन्न भएको स्थानीय निर्वाचनको प्राविधिक तथा व्यवस्थापकीय प्रक्रियाको एउटा महत्वपूर्ण अध्याय औपचारिक रूपमा समापन भएको छ।










