कोलकाता: दक्षिण बङ्गालमा मनसुन सक्रिय भएसँगै कोलकाता र आसपासका जिल्लाहरूमा आइतबार बिहानैदेखि मुसलधारे वर्षा भएको छ। विगत केही दिनदेखिको अत्यधिक गर्मी र उकुसमुकुसबाट प्रभावित स्थानीयले वर्षासँगै राहत महसुस गरेका छन्।
वर्षाका कारण कोलकाताका धर्मतला, सियालदह, बेहाला लगायतका क्षेत्रका सडकहरू जलमग्न भएका छन् भने बाली अन्डरपासमा पानीको सतह खतरनाक स्तरसम्म बढेको छ। अलीपुर मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीबाट निरन्तर बहिरहेको जलवाष्पयुक्त हावाका कारण दक्षिण बङ्गालमा आगामी ४ देखि ५ दिनसम्म वर्षा जारी रहने सम्भावना छ। कोलकाता, हावडा, हुगली, उत्तर र दक्षिण २४ परगना लगायतका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
सोमबार र मङ्गलबार वर्षाको वेग केही कम भई तापक्रममा सामान्य वृद्धि हुन सक्ने भए पनि बुधबारदेखि पुनः गर्जनसहित भारी वर्षा हुने मौसमविद्हरूले जनाएका छन्। अर्कातर्फ, उत्तर बङ्गालका जलपाईगुडी, कुचबिहार र अलिपुरद्वार जिल्लाहरूमा अत्यधिक वर्षाको चेतावनी दिँदै ‘रेड अलर्ट’ जारी गरिएको छ भने दार्जिलिङ, कालिम्पोङ र सिक्किममा समेत भारी वर्षाको सतर्कता अपनाउन भनिएको छ।









