गान्तोकः डेञ्जोङ शेर्पा एसोसिएशनले आइतवार तेञ्जिङ शेर्पाको १०८औं जन्मजयन्तीसितै १५औं अन्तर्राष्ट्रिय सरगमाथा दिवस गान्तोकमा पालन गऱ्यो। कार्यक्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा मुख्य अतिथि र विद्युत विभागका मन्त्री एमएन शेर्पा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रम आयोजन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै डेञ्जोङ शेर्पा एसोसिएशनका अध्यक्ष दोर्जी शेर्पाले पहिलो सगरमाथा आरोही तेञ्जिङ शेर्पालाई भारत सरकारले सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्नुपर्ने माग उठाए। यस अवसरमा एसोसिएशनले तेञ्जिङ शेर्पाको निम्ति भारत रत्नको माग गर्दै सांसद इन्द्रहाङ सुब्बालाई एउटा ज्ञापन बुझाएको छ भने मुख्यमन्त्री पीएस गोले र भारत सरकारको गृह मन्त्रायलाई पनि यसै प्रकारको ज्ञापन बुझाउने बताएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद इन्द्रहाङ सुब्बाले तेञ्जिङ शेर्पालाई बारत रत्न दिलाउन आफ्नो पक्षबाट हुने हर सम्भव सहयोग पुऱ्याउने बताए। आगामी वर्षदेखि तेञ्जिङ सेर्पाको जन्मदिन विद्यार्थी र विभिन्न सङ्गठनलाई समावेश गरेर पालन गरिने कार्यक्रममा सहभागी पर्यटन विभागका अतिरिक्त मुख्य सचिव जिपी उपाध्यायले बताए। आजको कार्यक्रम अवधि नेपाल र सिक्किमका सगरमाथा आरोहीहरूलाई अभिनन्दन पनि गरियो।