नयाँ दिल्ली: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) मा नयाँ शुरुवात हुँदैछ। पूर्व कप्तान सौरभ गांगुलीको बीसीसीआई अध्यक्षको कार्यकाल सकिएको छ। बोर्डले नयाँ अध्यक्ष पाएको छ, विश्व कप च्याम्पियन रोजर बिन्नी अब नयाँ प्रमुख बनेका छन्। आफ्नो इनिङ्स सकिएपछि सौरभ गांगुलीले नयाँ टोलीलाई बधाई दिएका छन्। सौरभ गांगुलीले भने, ‘म रोजर बिन्नीलाई हृदयदेखि बधाई दिन्छु। छनोट भएको नयाँ समूहले कामलाई अगाडि बढाउन काम गर्नेछ। बीसीसीआई राम्रो हातमा छ। भारतीय क्रिकेट बलियो रूपमा अगाडि बढिरहेको छ, हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौंl’
लगभग तीन वर्ष बीसीसीआईको अध्यक्ष रहेपछि सौरभ गांगुलीको यात्रा यहीँ समाप्त भएको छ। यसअघि उनले अर्को मौका पाउने अनुमान गरिएको थियो तर त्यसो हुनसकेन। सौरभ गांगुली फेरि एक पटक क्रिकेट एसोसिएसन अफ बङ्गालमा आबद्ध भएर क्याबको अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नसक्ने विश्वास गरिएको छ। यो पदबाहेक सौरभ गांगुली आईसीसी अध्यक्ष बन्ने सम्भावना पनि थियो तर बोर्डले यसपटक आफ्नो तर्फबाट कसैलाई मनोनयन नगर्ने निर्णय गरेकोले बीसीसीआई अध्यक्ष भएपछि सौरभ गांगुलीको आईसीसी अध्यक्ष बन्ने मिसन अधुरो रह्यो। बीसीसीआई चुनावको कुरा गर्ने हो भने लगभग सबै पदमा निर्विरोध नियुक्ति भएको छ। रोजर बिन्नी बीसीसीआईको अध्यक्ष बनेका छन् भने राजीव शुक्ला उपाध्यक्ष बनेका छन्। जय शाह फेरि बीसीसीआईको सचिव बनेका छन् भने देवजित सैकिया सहसचिव, आशिष शेलार कोषाध्यक्षमा निर्वाचित भएका छन्। यस वार्षिक साधारणसभाले एसिया कप २०२३ का लागि भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण नगर्ने निर्णय गरेको छ। बीसीसीआई सचिव जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने भएकाले सन् २०२३ को एसिया कप तटस्थ स्थानमा आयोजना गर्नेबारे विचार गरिने जानकारी दिएका छन्।