१८ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा सिलगढ़ीको आमुक्त परिवारले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा मंगलवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवारले नाइट चेस क्लब (नेपाल)-लाई २-१-ले पराजित गऱ्यो। म्याचको तीनैवटा गोल दोस्रो हाफमा भयो। विजेता टीमबाट दुवै गोल मेसुकेले गरे। यसरी नै नाइट चेस क्लबबाट मिलन राईले गोल गरे। अब बुधवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङको युनाइटेड ब्रदर्स र ईष्टर्न रेलवे, कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।