‘उहाँको जीवन यात्रा हाम्रा लागि ठूलो प्रेरणा‘
दार्जिलिङ: भारतकी माननीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभ-जन्मदिनको अवसरमा दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्टले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मुसँगको एक तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै सांसद विष्टले उहाँको गौरवमय जीवन यात्रा र देशप्रतिको समर्पणको उच्च प्रशंसा गर्नुभएको हो।
सांसद विष्टले एउटा आदिवासी समुदायबाट उठेर देशको सर्वोच्च संवैधानिक पद (राष्ट्रपति) सम्म पुग्ने राष्ट्रपति मुर्मुको यात्रा भारतीय लोकतन्त्रको शक्ति र समावेशी विकासको प्रतिबद्धताको एक बलियो उदाहरण भएको बताउनुभएको छ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “दार्जिलिङ, तराई र डुअर्सका जीवन्त आदिवासी समुदायहरू सहित देशभरिका लाखौँ आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उहाँको जीवन अत्यधिक गर्व, प्रेरणा र आशाको स्रोत बनेको छ।”
सांसद विष्टले राष्ट्रपति मुर्मुको विनम्रता, बुद्धिमत्ता र जनसेवाप्रतिको अटल समर्पणले एउटा ‘नयाँ भारत’ को आकांक्षालाई प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो, जहाँ हरेक नागरिकले प्रगति गर्ने र राष्ट्र निर्माणमा योगदान दिने अवसर पाउँछन्।
आफ्नो सन्देशको अन्त्यमा सांसद विष्टले महाकाल बाबा र सिन्चेल देवी माहेलसँग राष्ट्रपतिको सुस्वास्थ्य, खुसी र दीर्घायुको कामना गर्दै उहाँले यसरी नै निरन्तर र विशिष्टताका साथ देशको सेवा गरिरहन सकून् भनी प्रार्थना गर्नुभएको छ।










