रोजर बिन्नी बीसीसीआईको ३६औं अध्यक्ष नियुक्त

00-Rajar-Binny

नयाँ दिल्ली: भारतीय क्रिकेट टोलीका पूर्व स्टार र सन् १९८३ को विश्वकप विजेता टोलीका सदस्य रोजर बिन्नीलाई मङ्गलबार १७ अक्टोबरमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को ३६औं अध्यक्ष पदमा नियुक्त गरिएको छ। मुम्बईमा भएको बीसीसीआईको वार्षिक साधारणसभामा उनको नियुक्तिको घोषणा गरिएको हो। बिन्नीले भारतका पूर्व कप्तान सौरभ गांगुलीको ठाउँमा आएका छन्। ६७ वर्षीय रोजर बिन्नीले बीसीसीआई अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्ने एक मात्र उम्मेदवार थिए।

जय शाहले बीसीसीआई सचिवको रूपमा काम गरिरहनेछन्। अरुण धुमालले कोषाध्यक्ष पद छाड्ने भएका छन्। कोषाध्यक्षको जिम्मेवारी आशिष शेलारलाई दिइएको छ। उपाध्यक्षमा राजीव शुक्ला र सहसचिवमा देवजित सैकिया रहनेछन्। निवर्तमान कोषाध्यक्ष अरुण धुमाल आईपीएलको नयाँ अध्यक्ष हुने भएका छन्। सबै निर्विरोध निर्वाचित हुने भएकाले अर्को समुहको पदाधिकारीको निर्वाचन औपचारिकता मात्र थियो। रोजर बिन्नी आफ्नो हालको कार्यकालमा कर्नाटक राज्य क्रिकेट संघको अध्यक्ष थिए र अब राज्य निकायको आफ्नो पदबाट राजीनामा दिनेछन्। मध्यम गतिका बलर सन् १९८३ मा भारतको ऐतिहासिक विश्वकप जितका नायक हुन्। उनले विश्वकपमा ८ खेलमा १८ विकेट लिए, जुन प्रतिष्ठित प्रतियोगिताको त्यो संस्करणमा सबैभन्दा धेरै हो। आईसीसी शीर्ष पदका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति २० अक्टोबर हो। आईसीसी बोर्डको बैठक ११-१३ नोभेम्बरमा मेलबर्नमा हुनेछ। गांगुलीको बीसीसीआईबाट बाहिरिएपछि खेलकुदमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि ध्यान आकर्षित भएको छ। अब पूर्व कप्तानलाई शीर्ष पदका लागि पठाउने हो वा होइन त्यो चासोको विषय हुनेछ।

रोजर बिन्नीले यसअघि सन्दीप पाटिल अध्यक्ष हुँदा वरिष्ठ चयन समितिको सदस्यको रूपमा सेवा गरिसकेका छन्। जब जब उनका छोरा स्टुअर्ट बिन्नीको नाम भारतीय टोलीमा छनोटको लागि समाचारमा आयो, उनी कारवाहीबाट अलग हुने गर्थे। यसअघि, राष्ट्रिय संचारमध्यमको रिपोर्टअनुसार गांगुलीले गत हप्ता नयाँ दिल्लीमा सरोकारवालाहरूसँग धेरै बैठकहरू गरे। पूर्व भारतीय कप्तान बीसीसीआई अध्यक्षको रूपमा जारी राख्न इच्छुक थिए, तर बोर्ड अध्यक्षलाई दोस्रो कार्यकाल दिने कुनै उदाहरण नभएको बताइएको छ। बीसीसीआईको एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘सौरभलाई आईपीएलको अध्यक्षताको प्रस्ताव गरिएको थियो, तर उनले विनम्रतापूर्वक प्रस्ताव अस्वीकार गरे। सोही संस्थाको नेतृत्व गरेपछि बीसीसीआईको उपसमितिको अध्यक्षता स्वीकार गर्न नसकिने उनको तर्क थियो। उनले पदमा निरन्तरता पाउने इच्छा व्यक्त गरेका थिएl’

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement