काेलकत्ता: एशियाई खेलहरूमा स्वर्ण पदक विजेता, ओलम्पियन, ड्रेसेजमा विश्वका १४औं, एशियाका दोस्रो तथा भारतका नम्बर १ इक्वेस्ट्रियन अनुश अग्रवाललाई यस साल हुने एशियन गेम्सको निम्ति भारतीय टीममा चयन नगरिँदा धेरैलाई अचम्भित बनाएको छ। भारतीय टीममा स्थान नपाउँदा अनुश स्वयं पनि स्तब्ध छन्। यो विवाद अदालतसम्म पुगेको छ। भारतका सबैभन्दा सफल इक्वेस्ट्रियनहरू मध्ये एक अनुशले शुक्रवार दिल्ली हाई कोर्टमा मुद्दा दायर गर्दै एशियाई खेलहरूका निम्ति टीम चयन प्रक्रियालाई स्थगित गर्न माग गरेका छन्। यसको साथमा उनले भारतीय इक्वेस्ट्रियन फेडरेशन (ईएफआई)-को एड-हक कमिटीले पूर्ण रूपमा अपारदर्शी र अन्यायपूर्ण तरिकाले टीम चयन गरेको आरोप पनि लगाएका छन्। यसको साथमा उनलाई किन टीमबाट बाहिर राखियो भन्ने स्पष्ट कारण समेत नबताइएको उनको दावी छ। ईएफआई-ले २०२६ एशियन गेम्सका लागि भारतको ड्रेसेज टीमको घोषणा गरेको छ, जसमा श्रुति भोरा, गौरव पुन्डिर, जय सूद र हृदय छेडाले स्थान पाएका छन्। यसबीच पेरिस ओलम्पिकमा भारतका एकमात्र ड्रेसेज प्रतिनिधि तथा हाङझाउ एशियाई खेलहरूमा स्वर्ण जित्ने टीमका सदस्य अनुशलाई चाहिँ रिजर्भ सूचीमा राखिएको छ। दिल्ली हाई कोर्टमा दायर गरिएको याचिकामा अनुशले १६ जूनमा प्रकाशित चयन सूची रद्द गर्न माग गरेका छन्। यसको साथमा उक्त सूचीलाई स्थगित गर्ने पनि अनुरोध गरिएको छ। यति मात्र नभएर नयाँ तथा पारदर्शी र निष्पक्ष चयन समिति गठन गर्नु पर्ने माग पनि उनले उठाएका छन्। उनले चयन प्रक्रियामा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व हुनु नहुने तथा फेडरेशनले बनाएको नियमावलीलाई कठोरतापूर्वक पालना गरेर मात्र टीम चयन गरिनुपर्छ भन्ने माग गरेका छन्। उल्लेखनीय छ, टीमको घोषणा भएको लगत्तै पछि अनुश र फेडरेशनको एड-हक कमिटीबीच तनाउ शुरु भएको थियो। फेडरेशनले १८ जूनको बैठकबारे अनुशले गरेका केही टिप्पणीहरू गलत र भ्रामक रहेको बताएको छ। चयन नीतिमा व्यक्तिगत सुनुवाईको कुनै अनिवार्यता नभए पनि अनुशलाई विशेष रूपमा आफ्नो विचार राख्ने अवसर दिइएको थियो भन्ने फेडरेशनले दावी गरेको छ।









