सिक्किमका लागि ९० प्रतिशत अनुदानसहितको विशेष वित्तीय ढाँचा तयार गर्न मुख्यमन्त्रीको माग
शिलोङ: मेघालयको राजधानी शिलोङमा आज ‘बाह्य सहायता प्राप्त परियोजनाहरूको प्रभावकारिता र उपयोगबारे एक उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। माननीय केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित उक्त महत्त्वपूर्ण बैठकमा उत्तर-पूर्वी क्षेत्रका मुख्यमन्त्रीहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू, बहुपक्षीय विकास संस्था तथा अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यको तर्फबाट प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभयो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमको विकासात्मक आवश्यकताहरूलाई ध्यानमा राख्दै केन्द्र सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति माननीय वित्तमन्त्री र भारत सरकारप्रति हार्दिक आभार प्रकट गर्नुभयो। विशेष गरी ‘एसएससीआई’ अन्तर्गतको सहायता, ‘प्राइड अफ द हिल्स’ अभियानको स्वीकृति र उत्तर-पूर्वी क्षेत्रका लागि ‘बौद्ध परिपथ विकास योजना’ (बुद्धिस्ट सर्किट डेवलपमेंट स्कीम) मा सिक्किमलाई समावेश गरिएकोमा उहाँले केन्द्र सरकारको प्रसंशा गर्नुभयो।
सिक्किमले विद्युत, वन, कनेक्टिभिटी, तथा महिला र युवा कल्याण जस्ता क्षेत्रहरूमा बाह्य सहायता प्राप्त परियोजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गरिरहेको जानकारी दिँदै मुख्यमन्त्रीले यस ढाँचालाई अझ सुदृढ बनाउन केही महत्त्वपूर्ण सुझावहरू समेत राख्नुभयो। उहाँले राज्यका अधिकारीहरूको क्षमता अभिवृद्धि, परियोजना स्वीकृतिको समयमै सञ्चार, पारदर्शी कोष निर्देशिका, द्रुत मूल्याङ्कन प्रक्रिया र परियोजना टोलीको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो।
विशेष गरी साना हिमाली राज्यहरूले भोग्नुपरिरहेको अद्वितीय वित्तीय चुनौतीहरूलाई उजागर गर्दै मुख्यमन्त्री तामाङले बाह्य सहायता प्राप्त परियोजनाको कोष व्यवस्थालाई केन्द्र प्रायोजित योजनाहरूको ढाँचामा मिलाउनुपर्ने प्रस्ताव राख्नुभयो। उहाँले यस्ता परियोजनाहरूमा भारत सरकारको तर्फबाट ९० प्रतिशत अनुदान र १० प्रतिशत मात्र ऋण सहयोगको व्यवस्था गर्न सुझाव दिनुभयो। यसका साथै, राज्य सरकारको तर्फबाट उपलब्ध गराइने जग्गा, राइट-अफ-वे (सडक अधिकार) र पूर्वाधार निर्माण जस्ता योगदानहरूलाई पनि परियोजना अन्तर्गत मान्यता दिन उहाँले अनुरोध गर्नुभयो।
आफ्नो भ्रमणका क्रममा न्यानो आतिथ्य सत्कार र उत्कृष्ट व्यवस्थापनका लागि मेघालय सरकारलाई धन्यवाद दिँदै मुख्यमन्त्री तामाङले भ्रमणका दौरान अमूल्य सहयोग पुर्याएकोमा असम र पश्चिम बंगाल सरकारप्रति पनि कृतज्ञता व्यक्त गर्नुभयो। यो छलफलले सिक्किम जस्ता राज्यहरूलाई दिगो, समावेशी र उत्थानशील विकासका लागि बाह्य सहायताको अधिकतम उपयोग गर्न मद्दत पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।










