राजनैतिक पार्टी आउँछ जान्छ तर सबैको घर घरमा पानी आउनेछ, पानीले पार्टी छुट्याउनु हुँदैन: अनित थापा
खरसाङ: जल जीवन परियोजना अन्तर्गत आज खरसाङ महकुमा अन्तर्गत सुकुना पानीघटा समष्टिमा दुईवटा परियोजनाहरूको शिलान्यास जीटीएका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। सिमुलवारीमा आयोजित एउटा कार्यक्रममा परियोजनाको शिलान्यास भएको हो।
शिलान्यास समय लाभार्थी, ठेकेदार अनि सभासद्लाई सम्वोधन गर्दै अनित थापाले भने, “चुनाव समय म यो क्षेत्रको भ्रमण गर्दा मैले मानिसहरूको पिउने पानीको समस्या देखेको थिए। हामीलाई विश्वास गरेर तपाईहरुले भोट दिएर जिताउनु भयो। राजनैतिक पार्टी आउँछ जान्छ तर आगामी छ महिनाभित्र तपाईहरुको घर घरमा पानी आउनेछ। पानीले पार्टी छुट्याउनु हुँदैन।” ठेकेदारलाई पैसा माग्नु होइन उसको कामको गुणात्मकता हेर्ने सल्लाह दिँदै उनले भने, “कामको क्वालिटीमा ध्यान दिनुहोस। जनतालाई पानी दिनु सरकारले पैसा दिएको हो। त्यसैले काम एक नम्बरको हुनुपर्छ।”

शिलान्यास गरिएको जल जीवन मिशनको परियोजना विषयमा क्षेत्रीय सभासद परेश तिर्कीले जानकारी दिँदै भने, यस परियोजनाले लाभार्थीको घर-घरमा पिउने पानी पुर्याउनेछ।” उनको दिएका जानकारी अनुसार सिमुलवारी चिया बगानमा ३ करोड ९६ लाखको योजना पारित भएको छ भने चम्पासरी फरेस्ट बस्ती, छोटा अदलपुर अनि पाहरु बस्तीमा १ करोड ५० लाखको योजना पारित भएको छ।








