खरसाङ: खरसाङमा ३०० बेडको अस्पताल निर्माण कार्यको प्रक्रिया शुरु गरिएको छ। यसको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको पहलमा आज खरसाङ महकुमा अस्पतालको नव भवन निर्माण कार्यको प्रक्रियाको सुरुवात भएको छ। यसको लागि आज बिहान कोलकातास्थित रेडियन्ट आर्किटेक्चरले भवन निर्माण हेतु स्थलको सर्वेक्षण कार्य सुरु गरेको छ। नव निर्माण हुने अस्पताल खरसाङ पोलिटेक्निक नजिकैको मन्टिभियट चिया बगानको प्लटमा रहनेछ। खरसाङमा बनिन लागेको नयाँ अस्पताल भवनलाई जीटीए अधीनस्थ रहेको खरसाङ ईञ्जिनियरिङ विभागबाट सर्वेक्षण शुरु गरिएको छ। हालमा खरसाङ महकुमा अन्तर्गत केवल १२० बेडको मात्रै रहेको र धेरै असुविधा भईरहेको कारणले गर्दा खरसाङको मन्टिभियट चियाबारीको जमीनमा ३०० बेड भएको सुविधायुक्त मल्टिस्पेसिलिस्ट अस्पताल जस्तै निर्माण गरिने भएको छ। यसको लागि जमीनको सर्वेक्षण र जमीन आवण्टनको कार्य थालिएको छ भने आगामी वर्ष २०२३ भित्र अस्पताल निर्माणको कार्य थालिने अनुमान लगाइएको छ। अस्पताल निर्माणको लागि सर्वेक्षणमा आएका खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै अस्पताल निर्माणको प्रक्रिया जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा शुरु गरिएको हो। अनित थापाले हामीलाई निर्देश दिए अनुसार आजदेखि अस्पतालको लागि जमीनको सर्वेक्षणको कार्य सुरु गरेको बताएका छन्।

उनले भने, खरसाङको वर्तमान अस्पताल १२० वेडको अस्पताल हो र यहाँ धेरै असुविधा भईरहेको कारणले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको पहलमा अब बनाइने अस्पताल ३०० बेडको धेरै सुविधायुक्त र मल्टिस्पेसिलिटी अस्पताल जस्तै रहनेछ। अस्पतालको भवन निर्माण प्रक्रिया विषय र यो अस्पताल कहिलेदेखि निर्माण कार्य शुरु हुनेछ भन्ने विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै छेत्रीले ‘निर्माण हुने जमीन मन्टिभियट चिया बगानको लिज होल्ड ल्याण्ड हो र यो जमीनलाई बगानले सरकारमार्फत् जीटीएलाई हस्तान्तरण गर्नेछ जुन प्रशासनिक प्रक्रिया भएकोले यस विषयमा तोकेर भन्नु नसकिने तर हस्तान्तरण गर्नसाथ निर्माणको कार्य शुरु हुनेछ। यो प्रक्रिया चलुञ्जेल जमीनको सर्वेक्षण र आधारभूत कार्यहरू साथै पूर्वाधारहरू तयार लाग्नेछौं।’
उनले अझ भने, ‘३०० बेड रहने अस्पतालमा के कस्तो सुविधा अनि उपकरणहरू चाहिन्छ त्यो विषय हामीले अस्पतालका सुपरसँग बसेर कुरा गरिसकेका छौं। जीटीए चिफ् एक्जीक्युटिभको सक्रिय पहल र दार्जीलिङको जिल्लापाल अनि जीटीए मुख्य सचिव एउटै व्यक्ति हुनको कारणले पनि अस्पताल निर्माणको कार्य तीब्र रुपमा अघि बढ्नेछ भन्ने आशा छ।’ खरसाङमा बनिन लागेको सुविधायुक्त अस्पताल निर्माणको लागि जमीनको आवण्टन र सर्वेक्षण गरिरहेको कम्पनीको एकजना प्रतिनिधि अमीर चक्रवर्तीले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा यो जमीन एक बिघाभन्दा बेसी छ र अहिले सर्वेक्षण चलिरहेको छ र त्यसपछि आर्किटेकहरूले भवनको डिजाइन गर्नेछ भनी बताएका छन्। उनले डिजाइनमा छ महिना जस्तो लाग्ने अनि त्यसपछि टेण्डर भएर लगभग एक वर्षमा अस्तपाल निर्माणको कार्य थालिने बताएका छन्। नयाँ अस्पताल निर्माण विषयमा जीटीए प्रमुख कार्यपाल अनित थापासित जान्न चाहादा उनले खरसाङ महकुमा अस्पताल सानो भएको र ठूलो अस्पताल अनि आधुनिक अस्पताल हुनुपर्छ खरसाङमा र नै अब बनाइने अस्पताल आधुनिक रहनेछ। यहाँको गरीब जनताले नयाँ अस्पताल सुरु भएपछि उपचारको निम्ति सिलगढी झर्नु पर्दैन भनी बताएका छन्।








