२९ मई: खरसाङ फुटबल एसोसिएसन (केएफए)-को तत्वावधानमा आयोजित महकुमा स्तरीय इण्टर स्कूल नक् आउट फूटबल टुर्नामेण्टमा सेण्ट अल्फन्सस स्कूल च्याम्पियन भयो। स्थानीय मन्टभियट खेल मैदानमा आज भएको फाइनल म्याचमा सेण्ट अल्फन्सस स्कूलले पुष्परानी रोय मेमोरियल स्कूललाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अयुष तामाङले २ अनि सिद्धान्त तामाङले १ गोल गरे।

आज फाइनल म्याचमा विशिष्ट अतिथिको रूपमा पुष्परानी रोय मेमोरियल स्कूलकी प्रधान अध्यापिका ललिता भण्डारी, सेण्ट अल्फन्सस स्कूलका फादर केल्विन मोक्तान, तीनधारे हाई स्कूलका प्रतिनिधिहरू, समाजसेवी टीडी लामा, खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका अध्यक्ष मोहन योञ्जन, केएफए-का सदस्य तथा पूर्व खेलाड़ी दिनेश थापा, धर्मराज राणा, अशोक लामा अनि पूर्व खेलाड़ी तथा रेफरी ध्रुव प्रधान उपस्थित थिए। विजेता र उपविजेता टीमलाई ट्रफीको साथमा मेडल र सर्टिफिकेट प्रदान गरियो। यसको साथै हालै सम्पन्न महिला आईलीगमा सेतु एफसीलाई फाइनलसम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक क्रिस्पिन छेत्रीलाई पनि केएफए-को तर्फबाट सम्बर्धना जनाइयो। आजको म्याचमा मुख्य रेफरी प्रतीक गुरुङ थिए भने सहायकको भूमिकामा नवराज थापा अनि बिरेन राई रहेका थिए।