मतदाता नामावली पुनरीक्षण प्रक्रियामाथि चर्चा
गान्तोक: गान्तोकका जिल्ला चुनाउ अधिकारी (डीईओ) तथा जिल्लापाल रोहन अगवानेले मङ्गलवार जिल्ला प्रशासनिक केन्द्र (डीएसी) स्थित आफ्नो कार्यकक्षमा विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६-लाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसँग एउटा महत्त्वपूर्ण बैठक सञ्चालन गरेका छन्।
बैठक अवधि राजनीतिक दलका प्रतिनिधिहरूले एसआईआर २०२६ सँग सम्बन्धित विभिन्न प्रश्नहरू डीईओ समक्ष राखेका थिए। यस क्रममा मतदाता नामावलीमा दाबी र आपत्ति पञ्जीकरण गर्ने प्रक्रिया, नयाँ नाम दर्ताका लागि फाराम ६ सँग चाहिने आवश्यक दस्तावेजहरू अनि धरातलीय स्तरमा बुथस्तरीय अधिकारी (बीएलओ) र बुथस्तरीय एजेन्ट (बीएलए) ले सामना गर्नुपर्ने समस्याहरूमाथि विस्तृत छलफल गरियो। यसका साथै गणना फारामको वितरण र सङ्कलनको उचित अनुगमन गर्नका लागि सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) हरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा गर्ने भ्रमणबारे पनि चर्चा भयो। नागरिकहरूलाई यस एसआईआर प्रक्रियामा भाग लिनु कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझाउन र सचेत गराउन गाउँ-गाउँमा माइकिङ अभियानमार्फत जनचेतना फैलाउनु पर्ने आवश्यकतामाथि पनि बैठकमा जोड दिइयो।
राजनीतिक दलका प्रतिनिधिहरूले उठाएका जिज्ञासा र सरोकारहरूलाई ध्यानमा राख्दै जिल्ला चुनाउ अधिकारीले जिल्लाका सबै योग्य मतदाताहरूको नाम छुट्न नदिन सुनिश्चित गर्नका लागि बीएलओहरूद्वारा वितरण गरिएका गणना फारामहरू सही समयमा सङ्कलन गर्ने कार्यमा विशेष ध्यान केन्द्रित गर्न आग्रह गरे। यसका साथै उनले प्रतिनिधिहरूलाई प्रक्रियामा देखा पर्ने सबै वास्तविक गुनासाहरूलाई प्रशासनद्वारा तुरुन्तै सम्बोधन गरिने आश्वासन पनि दिएका छन्। यस महत्त्वपूर्ण बैठकमा चुनाउ विभागकी अवरसचिव धनमाया रसाइली र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।








