बाग्राकोट- बाग्राकोट उच्च माध्यमिक विद्यालयमा लामो अवधि कुशलतापूर्वक प्रधानाध्यापकको रूपमा सेवारत रही अवकाश ग्रहण गरेका ब्रुनो लेप्चा ( ब्रुनो सर) को गए राति निधन भएको छ। उनी मधुमेहको रोगले ग्रसित भई उपचारार्थ चिकित्सारत थिए। यसैबीच उनको निधन भएको खबर मध्यरातिनै बाग्राकोटभरि फैलिएपछि शोकको लहर छाएको छ। आफ्नो सहृदयी स्वभाव र विलक्षणताले सबैको मनमा पुज्य बनी बास बसेका ब्रुनो सरले यत्ति चाँडो छोडिजालान् भन्ने दस मनमा एक मन थिएन भन्दै छिमेकीहरू टिप्पणी गरिरहेछन्। एकप्रकारको व्याकुलताले गाँजेकोजस्तो बोध गरिरहेछ बाग्राकोट। अङ्ग्रेजी, नेपाली, लेप्चा बाहेक उनी हिन्दी, बाङ्गला भाषामा पनि पोख्त। गम्भीरतापूर्वक ठट्टा गर्दै पढाउने बानी, सहशिक्षकसित तालमेल राखेर काम गर्न खप्पिस,ग्रामीणहरूसँग एकाकर भई जिउने मिलनसार आनीबानी, साहित्य र खेलकुदमा अभिरुचि राख्ने एक कार्यकुशल हस्ती थिए- ब्रुनो सर! कालेबुङ जिल्लाको सुरुकमा जन्मेहुर्केका ब्रुनो सरले बाग्राकोटलाई स्थायी ठेगाना बनाई अवकाशजीवन व्यतीत गरिरहेथे। ब्रुनो सरले कैयौंलाई उपकार गरेको किस्सा दिन्हौंजसो सुन्नपाइन्छ। उनको गालीमा पनि मायाको छाँया हुन्थ्यो। गुणगान गर्न र लेख्न योग्यको अनेकौं कार्य गर्ने होनहार शिक्षक ब्रुनो लेप्चालाई सदासर्वदा सश्रद्धा स्मृतिमा राख्ने विश्वासलिँदै उनलाई अन्तरहृदयले चोखो श्रद्धाञ्जली टक्राउन एकाबिहानै निजनिवास कोइलाकम्पनीमा स्वजनहरूको ताँत लागेको छ। उनको निधनमा शोक र श्रद्धाञ्जली प्रकट गर्दै आज बाग्राकोट उच्च माध्यमिक विद्यालयले बिदा घोषणा गरेको छ।