गान्तोक: सिङ्ताम पुलिसले लागूऔषध विरुद्धको आफ्नो अभियानमा एउटा ठूलो सफलता हासिल गर्दै भारी मात्रामा ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपीको पहिचान दक्षिण सिक्किमको तिमी नामफिङ, रेसेप निवासी २९ वर्षीय चन्द्रबहादुर सुब्बाको रूपमा गरिएको छ।
पुलिस रिपोर्टका अनुसार, सिङ्ताम क्षेत्रलाई लागूऔषधमुक्त बनाउने उद्देश्यका साथ पुलिस प्रशासनले आफ्नो सक्रियतालाई निरन्तर बढाउँदै लगेको छ। यसै क्रममा, पहिचान गरिएका संवेदनशील क्षेत्रहरूमा हालै सुरु गरिएको विद्युतीय स्कुटर गस्ती अन्तर्गत वाकवे, गोस्कान डाँडा र आसपासका भेगहरूमा कडा निगरानी राखिँदै आएको छ। यस नयाँ गस्ती प्रणालीले अवैध गतिविधि नियन्त्रण र सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाएको छ।
यस्तै एउटा सतर्क गस्ती अभियानका क्रममा पुलिस निरीक्षक किशोर कुमार क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले आरोपी चन्द्रबहादुर सुब्बालाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो। पुलिसले केरकार गर्न थालेपछि अभियुक्त नजिकैको जङ्गलतर्फ भागिजाने प्रयास गरेका थिए। तथापि, पुलिस टोलीको त्वरित प्रतिक्रिया, साहस र आपसी समन्वयका कारण उनलाई लखेटेर टिस्टा नदी क्षेत्र मुनिको कालीखोलाबाट नियन्त्रणमा लिन सफलता मिल्यो।
नियन्त्रणमा लिएपश्चात् कानुन बमोजिम तलासी लिँदा आरोपीको साथबाट १३.२५ ग्राम शङ्कास्पद ब्राउन सुगर बरामद गरिएको छ। यस अवैध कार्यलाई लिएर सिङ्ताम पुलिस थानामा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी पुलिसले थप अनुसन्धान अघि बढाएको छ।
यसका साथै, एउटा सुरक्षित र स्वस्थ समाज निर्माणका निम्ति सिङ्ताम पुलिसले कुनै पनि किसिमका अवैध गतिविधिहरू देखा परे तुरुन्तै सूचना दिएर सहयोग पुर्याउन सर्वसाधारणलाई हार्दिक अपिल गरेको छ।








