गान्तोक: तीन दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम गान्तोक आइपुगेका छन् केन्द्रीय राज्यमन्त्री शान्ति ठाकुर। दिउँसो पाकिम हवाईअड्डामा भारतीय जनता पार्टी सिक्किमका अध्यक्ष डीबी चौहान, महासचिव भरत दुलाललगायत कार्यकर्ताहरूले उनलाई भव्य स्वागत जनाए।यसैबीच आज साँझ राज्यमन्त्री ठाकुरले गान्तोकस्थित पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरूसित महत्वपूर्ण बैठक गरे। यस अवसरमा पार्टीका विधायक डीआर थापालगायत गान्तोक जिल्लाका पदाधिकारीगण, पार्षद्लगायत अन्य वरिष्ठ कार्यकर्ताहरूको उपस्थिति रहेको जानकारी पार्टी प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्। बैठकमा विधायक थापाले सिक्किमे जनताको पक्षबाट सिक्किमका विभिन्न जल्दा-बल्दा मुद्दाहरूमाथि केन्द्रिय राज्यमन्त्रीको ध्यानाकर्षण गराए। विशेष गरेर राज्यको दयनीय सड़क व्यवस्था, बढ्दो अनुप्रवेश अनि आईएलपी लागू गरिनुपर्ने माग, छुटेका समुदायलाई जनजातिको मान्यता, लिम्बू-तामाङ सीट आरक्षण, कर्मापा मुद्दा आदि विषय केन्द्रिय राज्यमन्त्रीलाई विस्तृतपूर्वक अवगत गराए। विधायक थापाले सिक्किमको सर्वाङ्गीण साथै गुणात्मक विकासको निम्ति केन्द्र सरकारले कड़ा निगरानी राख्नुपर्ने पनि माग उठाए।उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मन्त्री शन्तनु ठाकुरले सिक्किममा निरन्तर रूपमा केन्द्रिय मन्त्रीहरूको भ्रमण भइरहेको र सबैले सिक्किमका तमाम समस्या तथा मुद्दाहरूमाथि केन्द्र सरकारलाई अवगत गराउने काम गरिरहेको बताए। मन्त्रीहरूको भ्रमणले यहाँको जमीनी सच्चाईबारे केन्द्र सरकार अवगत हुनका साथै विकासीय योजनाहरूलाई प्रभावी ढंगमा लागू गर्नमा मद्दत पुगिरहेको उनको भनाई थियो।आजको बैठकमा उठाइएका सबै मुद्दाहरूलाई पनि सम्बन्धित सबै मन्त्रालयहरूमा उठाइदिने आश्वासन दिँदै केन्द्र सरकार पनि सिक्किम साथै पूर्वोत्तरको विकासप्रति गम्भीर रहेको मन्त्री ठाकुरले जानकारी दिए।