गान्तोक: आगमी १९ देखि २१ अक्टोबरसम्म सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत केन्द्रिय सञ्चार कार्यालयले पश्चिम सिक्किम अन्तर्गत गेजिङ स्थित क्योङसा खेल मैदानमा तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम आयोजन गर्ने भएको छ। यस कार्यक्रमको जानकारी पीआईबीले दिएको छ। तीन दिने कार्यक्रममा भारतको स्वतन्त्रता आन्दोलनमा पूर्वोत्तरका साथै सम्पूर्ण भारतका स्वतन्त्रता सेनानीहरूबारे व्यापक जागरूकता फैलाउनका साथै सशस्त्र सीमा बलका विभिन्न उपलब्धि अनि आयुधहरूको प्रदर्शनी, चिकित्सा शिविर, खाद्य पसल, चित्रकला प्रतियोगिताका साथमा आजादीको अमृत महोत्सवको भावना अनुरूप विविध कार्यक्रम पनि सामेल रहनेछ।
कार्यक्रमको उद्घाटन सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक बी नारायणनले १९ अक्टोबरको दिन बिहान ११ बजे सशस्त्र सीमा बल, सीमान्त मुख्यालय, सिलगढीका महानिरीक्षक अमित कुमार, जिल्लापाल श्रीमती हिस्से डी योङडा, खेलकूद एवं युवा मामिला विभागकी संयुक्त निर्देशक श्रीमती एन लामु भोटिया लगायत एसएसबी अनि सिक्किम सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थितिमा गर्नेछन्।