दार्जिलिङ: जीटीएका मुख्य जनसम्पर्क अधिकारी अर्थात सीपीआरओ एसपी शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आगामी १ जुलाईदेखि लागू हुने गरी आफ्नो राजीनामा पत्र जीटीएका प्रमुख कार्यपाल अनित थापासमक्ष बुझाएको बताएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै शर्माले विगतमा राज्यमा सरकार परिवर्तन हुँदा दार्जीलिङमा त्यसको प्रत्यक्ष प्रभाव नपर्ने गरेको भए पनि यसपटकको परिस्थिति फरक रहेको बताए। उनका अनुसार हालको राजनीतिक अवस्थाले जीटीए तथा नगरपालिकाको कार्य सम्पादनमा प्रत्यक्ष असर पारेको छ। यो पटक जीटीए र नगरपालिकामा काम गर्ने वातावरण नै छैन। जीटीए चलेको छ कि छैन भन्ने अवस्था समेत स्पष्ट छैन। मन्त्रीहरू आउँछन्, जीटीएका अधिकारीहरूलाई बोलाइन्छ तर निर्वाचित प्रतिनिधिहरूलाई बोलाइँदैन। आज पनि राज्यका वित्त मन्त्री उत्तर बंगाल आए तर जीटीएलाई बोलाइएन। यस्तो परिस्थितिमा सीपीआरओको रूपमा प्रभावकारी ढंगले काम गर्न नसकिएको उल्लेख गर्दै शर्माले यस्तो अवस्थामा यहाँ पद ओगटेर बस्नु मात्रको अर्थ रहन्छ भन्दै राजीनामाको निर्णय गरेको बताए।









