सिक्किमको सडक पुनर्स्थापना कार्यलाई तीव्र पार्न सांसद इन्द्रहाङ सुब्बा सक्रिय

Screenshot_20260610_223717_Chrome

बीआरओ प्रमुखसँग नयाँ दिल्लीमा उच्चस्तरीय बैठक, लाचेन मार्ग सरकारको सर्वोच्च प्राथमिकतामा

गान्तोक: सिक्किममा दैवी प्रकोपले क्षत-विक्षत पारेका सडक खण्डहरूको चाँडोभन्दा चाँडो पुनर्स्थापना गरी जनजीवनलाई सामान्य बनाउन अहिले चौतर्फी प्रयासहरू सुरु भएका छन्। यसै सिलसिलामा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीस्थित सीमा सडक सङ्गठन (बीआरओ) को मुख्यालय पुगेर महानिर्देशकसँग एउटा उच्चस्तरीय समीक्षा बैठक गर्नुभएको छ। बैठकमा विशेष गरी राज्यको लाइफलाइन मानिने लाचेन मार्गलाई यथाशीघ्र सुचारु गर्ने विषयमा गहन छलफल भएको बुझिएको छ।
​सांसद सुब्बाले महानिर्देशकसमक्ष लाचेन क्षेत्रमा यातायात सम्पर्क पुनः स्थापित गर्नु सिक्किम सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा हालै सम्पन्न उच्चस्तरीय बैठकमा पनि यस विषयलाई गम्भीरताका साथ उठाइएको जानकारी दिँदै उहाँले जनताको सुविधाका लागि काममा तीव्रता दिन आग्रह गर्नुभयो। लाचेन मात्र नभएर सिक्किमभरि बीआरओको जिम्मेवारीमा रहेका विभिन्न राष्ट्रिय राजमार्ग र सिङ्ताम-डिक्चु सडक खण्डको मर्मत कार्यलाई पनि युद्धस्तरमा अघि बढाउनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो।
​पहाडको भौगोलिक विकटताका कारण सडक अवरुद्ध हुँदा आम जनताले भोग्नुपरिरहेको सास्ती, आर्थिक मन्दी र सामाजिक गतिविधिमा परेको बाधालाई ध्यानमा राख्दै सुरक्षित र भरपर्दो सडक सञ्जाल निर्माण गर्नु आजको मुख्य आवश्यकता बनेको सांसद सुब्बाको भनाइ थियो। उहाँको यस आग्रहलाई सकारात्मक रूपमा लिँदै बीआरओका महानिर्देशकले प्रभावित क्षेत्रहरूमा पुनर्स्थापना कार्यलाई थप तीव्र बनाउने र आइपरेका पूर्वाधारसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न विभागले हरसम्भव कदम चाल्ने आश्वासन दिनुभएको छ। सिक्किमका जनताको सुरक्षा र सुविधालाई मध्यनजर राख्दै सबै सरोकारवाला निकायहरूबीच आपसी समन्वय रहनुपर्ने कुरामा जोड दिइएको यस बैठकले आगामी दिनमा सडक मर्मतको कार्यले गति लिने आशा जगाएको छ।

About Author

Advertisement