१२ वर्षे सुशासनलाई लिएर राज्यव्यापी अभियान सुरु
गान्तोक: माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेको ऐतिहासिक अवसरमा भाजपा सिक्किम प्रदेश अध्यक्ष श्री डी.आर. थापाको नेतृत्वमा विशेष प्रार्थना सभा आयोजना गरिएको छ। आज देवरालीस्थित छोर्तेन गुम्बामा पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै विशेष पूजाअर्चना गरे। यस अवसरमा १०८ वटा पवित्र दियो बालेर प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वप्रति कृतज्ञता प्रकट गरियो। यस ऐतिहासिक उपलब्धिलाई उत्सवको रूपमा मनाउँदै भाजपा सिक्किमले राज्यका विभिन्न धार्मिक स्थलहरू- मन्दिर, गुम्बा, चर्च, माङखिम तथा अन्य उपासना स्थलहरूमा राज्यव्यापी प्रार्थना कार्यक्रमको आयोजना गरेको छ। यस प्रार्थनाले सिक्किमको ‘अनेकतामा एकता’ को भावनालाई दर्शाउँदै देशमा शान्ति, समृद्धि र निरन्तर विकासको कामना गरेको छ।

यस विशेष अवसरमा भाजपा सिक्किमले विगत १२ वर्षमा मोदी सरकारले गरेका क्रान्तिकारी कार्यहरू र उपलब्धिहरू समेटिएको विशेष पुस्तक तथा प्रचार सामग्री वितरण गर्ने राज्यव्यापी जनसम्पर्क अभियानको पनि सुरुवात गरेको छ। यस अभियानको शुभारम्भ परम पावन दोर्दुल रिम्पोछे कुदुङको आशिर्वाद लिएर गरिएको हो।

विमोचन गरिएको पुस्तकमा सन् २०१४ देखि २०२६ सम्मको अवधिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पूर्वाधार विकास, आर्थिक वृद्धि, सामाजिक कल्याण, डिजिटल रूपान्तरण, महिला सशक्तिकरण, युवा विकास, राष्ट्रिय सुरक्षा र विश्व मञ्चमा भारतको बढ्दो गरिमा जस्ता क्षेत्रमा हासिल गरेका प्रमुख उपलब्धिहरूलाई विस्तृत रूपमा समेटिएको छ। आगामी दिनमा भाजपाका कार्यकर्ताहरूले सिक्किमका सबै जिल्लाका घर-घर, समुदाय र सरोकारवालाहरूसम्म पुगेर यो पुस्तक वितरण गर्दै आत्मनिर्भर भारत र ‘विकसित सिक्किम’ को संकल्पलाई साझा गर्नेछन्।










