काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः देशको गृहमन्त्रीका रूपमा नियुक्त भएका छन्। यसका साथै मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी सुम्पेका छन्। यसअघि यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आएका थिए। दुवै नवनियुक्त मन्त्रीहरूले मङ्गलवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरी गृह र विज्ञान मन्त्रालयमा पदबहाली समेत गरिसकेका छन्।
गृहमन्त्रीको रूपमा दोस्रो पटक कार्यभार सम्हालेका सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरेलगत्तै विसं २०५८ साल जेठ १९ गते भएको चर्चित राजदरबार हत्याकाण्डको अनुसन्धानलाई अगाडि बढाउने घोषणा गरेका छन्। मङ्गलवार पदबहालीका क्रममा आफूले चारवटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै उनले दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषयलाई राखेको बताए। यसअघि सार्वजनिक भएका प्रतिवेदनहरूको गहन अध्ययन गर्दै यस घटनामाथि थप छानबिन अघि बढाउने दाबी गृहमन्त्री गुरुङले गरेका छन्।
सम्पत्तिको स्रोतलाई लिएर विवादमा परेपछि गुरुङले मन्त्री बनेको २७औँ दिनमा अर्थात् गत वैशाख ९ गते “नैतिकताको आधार” मा भन्दै पदबाट राजीनामा दिएका थिए। गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएपछि नखुलाइएको शेअर लगानीको स्रोतलाई लिएर चौतर्फी प्रश्न उठेपछि छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन र स्वार्थको द्वन्द्व हुन नदिन राजीनामा दिएको उल्लेख गरेका थिए। उनको सम्पत्ति छानबिनका लागि सरकारले अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा गठन गरेको समितिले गत शुक्रवार आफ्नो प्रतिवेदन बुझाएको थियो। समितिका संयोजक भण्डारीका अनुसार प्रमाणका आधारमा गुरुङको सम्पत्ति सम्बन्धमा वस्तुगत निचोड निकालिएको छ र उक्त प्रतिवेदन जनसमक्ष चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह समेत गरिएको छ। मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा फर्काउने निर्णय गरेका हुन्।
प्रधानमन्त्री शाहको मन्त्रिपरिषद् गठन भएकै दिन पहिलो पटक गृहमन्त्री बनेका गुरुङ यस वर्तमान सरकारबाट हट्ने दोस्रो व्यक्ति थिए। यसअघि श्रममन्त्री दीपककुमार साह आफ्नी पत्नीको नियुक्तिसँग जोडिएको विवादका कारण दुई सातामै पदबाट हटेका थिए। मङ्गलवारको नयाँ नियुक्ति र मन्त्रिमण्डल विस्तारबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले बिहानको पत्रकार सम्मेलनमा औपचारिक रूपमा केही नबोले पनि प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले गुरुङ र पुनको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा भएको पुष्टि गरेकी छिन्।









