सन्दकफू क्षेत्रको हरियाली संरक्षणको २६ वर्ष पुगेकोमा फोसेपद्वारा सन्दकफु क्षेत्रमा वृक्ष रोपण कार्य सम्पन्न

IMG-20260609-WA0084

दार्जिलिङ: दार्जिलिङ पहाडको उच्च स्थान सन्दकफू क्षेत्रको हरियाली संरक्षणका लागि विगत २६ वर्षदेखि निरन्तर वृक्षारोपण गर्दै आएको संस्था फेडेरेशन अफ् सोसाइटी फर इनभारमेन्टल प्रोटेक्शन (फोसेप) ले यस वर्ष पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सन् २००० देखि सुरु भएको अभियानले यसपटक २६ वर्ष पूरा गरेको छ।दार्जीलिङबाट प्रस्थान गरेको जम्मा २० जनाको टोलीमा साहित्यकारद्वय डा. सीके राई र प्रेम प्रधान, फोसेपका सचिव भरत प्रकाश राई, उपाध्यक्ष अरुण राई, सदस्यहरू मधुसुदन विष्ट, अनुप तामाङ, मृनाल, निलम सार्की, अरुण लामा लगायत दार्जीलिङ, खरसाङ, दवाईपानी, तक्दाह र ग्लेनबर्नका सरोकारवालाहरूको सहभागिता रहेको थियो। काल पोखरीमा सिंहलिला पर्यावरण संरक्षण समितिका छेवांग भुटिया लगायत स्थानीयहरूसँग फोसेपले पर्यावरण संरक्षणबारे गहिरो विचार–विमर्श गरेको थियो। औपचारिक कार्यक्रम केक काट्दै सुरु गरिएको थियो। त्यसपछि टोलीले सन्दकफू क्षेत्रमा व्यापक सफाइ अभियान सञ्चालन गर्‍यो। सिंहलिला समितिका सदस्यहरूको सहभागितामा यस वर्ष पनि गुरास र सिल्भर फरका बिरुवाहरू रोपिएका थिए।
संस्थाले बिरुवा रोप्न मात्र होइन, बेला–बेला गएर बिरुवाहरूको स्याहार–सुसार गर्ने कार्य निरन्तर गरिरहेको फोसेपका महासचिव भरत प्रकाश राईले जानकारी गराए। सन्दकफूमा वृक्षारोपण गर्नु केवल वातावरणीय कार्य होइन, यो संस्कृति र भविष्यलाई जोगाउने अभियान रहेको सहभागीहरुले बताए। गुराँस र सिल्भर फर रोप्दा प्रकृतिसँग पुनः सम्बन्ध गाँसिएको अनुभूति हुने धारणा कतिले व्यक्त गरे यसरि नै साहित्यकार मधुसुदन बिष्टले सफाइ अभियान र वृक्षारोपणले पर्यावरण संरक्षण सामूहिक जिम्मेवारी भएको स्मरण गराए।
समुदाय सदस्यले यस अभियानमा सहभागी हुन पाउनु जीवनको नौलो अनुभव भएको भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिए। वन विभागको सहयोगमा निरन्तरता पाइरहेको यो अभियानले सन्दकफूलाई हरियालीले ढाक्ने सपना बोकेको छ। सहभागीहरूले यसलाई केवल एक दिनको कार्यक्रम नभई जीवनभरको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। फोसेपको यो निरन्तरता केवल वृक्षारोपण अभियान नभई भविष्यका पुस्तालाई हरियाली उपहार दिने अमूल्य प्रतिबद्धता बनेको छ।

About Author

Advertisement