दार्जिलिङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार गुप्त प्रधानको निधनमा घुम जोरबङ्लो महाविद्यालयमा शोक सभा सम्पन्न भएको छ। गत १२ अक्टोबर २०२२ का दिन नेपाली साहित्यका वरिष्ठ साहित्यकार गुप्त प्रधानको निधन भएको थियो भने हिजो मात्र नेपाली साहित्यका शताब्दी पुरुष सत्यमोहन जोशीको पनि देहान्त भएको थियो। यीनै दुई साहित्यकारका अविस्मरणीय एवम् अद्वितीय साहित्य सेवालाई कदर गर्दै नेपाली साहित्य जगत्मा भएको अपूरणीय क्षति बोध गरेर घुम जोरबङ्लो महाविद्यालयले गहिरो शोक प्रकट गरेको छ। शोक सभामा नेपाली विभागका विभागीय प्रमुख डा महेश दाहालले गुप्त प्रधान र सत्यमोहन जोशीका बारेमा जानकारी गराए। उनले भने – गुप्त प्रधानले ४ वर्ष लगाएर धुमिल पृष्ठ लेखेको र कथामा उनी खप्पिस व्यक्तित्व साथै सम्पादन र अनुवादमा पनि विशिष्ट उपस्थिति दिएका थिए। धुमिल पृष्ठहरूले हाम्रो इतिहासको प्रारम्भिक अवस्थालाई विस्तृत रूपमा समेटेको पाइन्छ। त्यसरी नै सत्यमोहन जोशीको बहुआयमिकताबारे पनि चर्चा गरियो। विद्यार्थी प्रतिम मैनालीले गुप्त प्रधानको परिचय प्रस्तुत गरे भने विद्यार्थी प्रवेशना राईले सत्यमोहन जोशीको परिचय प्रस्ततु गरिन्। विद्यार्थीहरूले कथाकार गुप्त प्रधानका कथाहरू पनि वाचन गरेर उनलाई श्रद्धाञ्जली प्रकट गरे। उक्त सभामा प्राध्यापिका उष्णम् छेत्री, प्रा. बिनिता सुब्बा, प्रा. अञ्जुला छेत्री अनि प्रा. अर्पणा सुब्बा पनि उपस्थित थिए।