दार्जिलिङमा पार्वतीय कर्मचारी संगठन पाकस दार्जिलिङले आफ्नो ४०औँ स्थापना एवं एकता दिवस कार्यक्रम सम्पन्न

IMG-20260608-WA0113

दार्जिलिङ: पार्वतीय कर्मचारी संगठन पाकस दार्जिलिङले आफ्नो ४०औँ स्थापना एवं एकता दिवस दार्जिलिङमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। संगठनको चार दशक लामो यात्रा, एकता, समर्पण तथा कर्मचारी हितप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कर्मचारी प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि संगठनका संस्थापक सदस्य भीम थापा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा एनबी कालिकोटे र ठेण्डुप छिरिङ शेर्पा उपस्थित थिए। यसको साथै सरिता भण्डारी, कमल लिम्बू, संगठनका केन्द्रीय अध्यक्ष बीपी छेत्री, केन्द्रीय तथा महकुमा समितिका पदाधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ अध्यक्ष , प्रमुख तथा विशिष्ट अतिथिहरूको आसन ग्रहण र माल्यार्पणसँगै दीप प्रज्वलन गरी गरिएको थियो। यस अवसरमा संगठनका दिवङ्गत सदस्यहरूको योगदानलाई सम्मान व्यक्त गर्दै मौन धारण गरिएको थियो। संगठनका तर्फबाट आशिष गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा शुभेच्छुकहरूलाई स्वागत गरेका थिए। त्यसपछि दार्जिलिङको प्रतिष्ठित त्रिवेणी संगीतालयका विद्यार्थीहरूले गणेश वन्दना प्रस्तुत गर्दै आकर्षक नृत्य प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि थुप्देन शेर्पाले संगठनको चार दशक लामो यात्राको प्रशंसा गर्दै कर्मचारीहरूको हकहित, एकता र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी संगठनका केन्द्रीय अध्यक्ष बी.पी. छेत्रीले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनको उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रमका क्रममा विभिन्न विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूले गीत–संगीत प्रस्तुत गरी सांस्कृतिक वातावरण सिर्जना गरेका थिए। साथै, जीटीए लगायत विभिन्न विद्यालयका कर्मचारी प्रतिनिधिहरूले आ-आफ्नो प्रतिवेदन तथा धारणा प्रस्तुत गर्दै संगठनको भूमिका र कर्मचारी हितसम्बन्धी विषयमा प्रकाश पारेका थिए। चार दशकदेखि कर्मचारीहरूको अधिकार, कल्याण र एकताको पक्षमा निरन्तर क्रियाशील रहेको पार्वतीय कर्मचारी संगठनले स्थापना दिवसका अवसरमा संगठनको ऐतिहासिक योगदानलाई स्मरण गर्दै आगामी दिनहरूमा पनि कर्मचारी हितका मुद्दामा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यक्रमको सञ्चालन जीवन भण्डारी र गोपाल प्रधानले संयुक्त रूपमा गरेका थिए।

About Author

Advertisement