शब्द समय सालबारीको १०६औं प्रकरण सम्पन्न

Salbari

खरसाङ: सालबारीमा प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुने शब्द समयको १०६ औँ प्रकरणस्थानीय सयपत्री भवनमा सम्पन्न भयो। वरिष्ठ कवि कथाकार-खड़कराज गिरीद्वारा सञ्चालन गरिएको यस प्रकरणमा प्रथममा सधैँ झैं शब्द समयका अभिभावक साहित्यकार नरबहादुर दाहालले आफ्ना अनुभवहरू साझा गरे। उनले भने, शब्द समयलाई शुरु गर्दा सानो रूपमा गरिएको थियो। आज यसको उमेर १३ वर्ष पुगिसकेको छ। यसलाई हामीले जसरी जसरी निरन्तरता दिइरहेका छौं। यही हो हाम्रो शब्द समयप्रतिको माया। आफ्ना कुराहरू राख्नेे क्रममा साहित्यकार दाहालले साहित्यमा सक्रीय बनेर काम गरिरहेका साहित्यकार शरद प्रधानलाई पनि उल्लेख गरे। उनले भने, शरद प्रधान गहन अध्ययनले माझिएका एक सर्जक हुन्। उनले भारतका साहित्यकारहरूलाई पनि धेरै माया गर्छन् र उनीहरूबारे लेख्छन्। उनको कृति ‘स्मृति बिम्ब’ आजै काठमाडौंमा लोकार्पण भइरहेको कुरा पनि साहित्यकार दाहालले जनाए अनि खुशी व्यक्त गरे। दाहालले आफ्ना गुरु प्रसिद्ध समालोचक रामकृष्ण शर्माको पनि सम्झना गरे जसको जन्मदिन गत १५ मईको दिन परेको थियो। उनले रामकृष्णसितका सान्निध्यबारे कुराहरू राखे। रामकृष्ण शर्मा सिद्धान्तका पक्का व्यक्ति बताउँदै उनीबारे अरू जानकारीहरू प्रस्तुत गरे। त्यसपछि वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाको सञ्चालनमा आज शब्द समयमा उपस्थित बन्न आइपुगेका नेपाली साहित्यका प्रसिद्ध कवि नोर्ज्याङ स्याङदेन अनि महाराष्ट्रबाट आएका डा. भेलेरियनलाई शब्द समयमा स्वागत गरियो। वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट खदा पहिर्‍याएर उनीहरूलाई न्यानो स्वागत जनाइयो। यसपछि कवि खतिवड़ाकै सञ्चालनमा हालै झापा नेपालबाट भवानी मिश्र स्मृति पुरस्कार प्राप्त गरेर आएका विशिष्ट साहित्यकार नरबहादुर दाहाल अनि धुलाबारी नेपालबाट तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार प्राप्त गरेर आएका साहित्यकार कालूसिंह रनपहेंलीलाई शब्द समयको तर्फबाट खदा पहिर्‍याएर बधाई टक्राइयो। वरिष्ठ कवि मोहन ठकुरी अनि वरिष्ठ कवि भविलाल लामिछानेका बाहुलीबाट दुई साहित्यकारहरूलाई खदा पहिर्‍याएर सम्मान जनाइयो। अन्य उपस्थित सदस्यहरूले पनि पुरस्कृत साहित्यकारद्वयलाई खदा पहिर्‍याएर बधाई जनाए। यसै आवसरमा हालै सालबारी शब्द समयका चारजना सर्जक सदस्यहरू आकाशवाणी खरसाङमा रेडियो कार्यक्रम रेकर्ड गरेर फर्केका हुनाले यो पनि सालबारीको उपलब्धि हो भनी चार स्रष्टाहरू क्रमैले कथाकार खड़कराज गिरी, कथाकार-अनुवादक जितबहादुर सुनार, कवि लीलबहादुर सुनार अनि कवि हेमन्त काफ्लेलाई वरिष्ठ साहित्यकार नरबहादुर दाहालको बुहुलीबाट खदा पहिर्याएर शब्द समयको तर्फबाट बधाई टक्राइयो। यस अवसरमा कवि नोर्ज्याङ स्याङदेनले शब्द समयमा आइपुग्न पाएकामा आफू खुशी बनेको कुरा राख्दै आफ्ना उद्गारहरू अभिव्यक्त गरे। आजको प्रकरणमा रचना पाठ गर्ने क्रममा वरिष्ठ कवि मोहन ठकुरीले पंजाबी कवि कोंकेका कविताको नेपाली अनुवाद जो खड़गराज गिरी अनि भविलाल लामिछानेले गरेका थिए पठन गरे। रचना पाठ गर्ने सर्जकहरू थिए- वरिष्ठ कवि-साहित्यकार भविलाल लामिछाने, साहित्यकार डी.एस बमजन, दिल्ली नेपाली सम्मेलनका साहित्य सचिव जे.के. बराइली, लीलबहादुर सुनार, हेमन्त काफ्ले, महेश कुमार सुब्बा, मन प्रसन्न योञ्जन, ज्ञानेन्द्र खतिवड़ा, टीकाराम थापा, कविता अधिकारी, नैना सुब्बा बराइली, गंगाप्रसाद प्रधान, कालूसिंह रनपहेंली आदि थिए। धन्यवाद ज्ञापनपछि शब्द समयको यो प्रकरण समाप्त भयो। समारोहमा वरिष्ठ साहित्यकार प्रकाशमणि प्रधान, वरिष्ठ समाजसेवी पूर्ण मगर, रघु शर्मा आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement