फोहोर व्यवस्थापन र पूर्वाधार सुधारमा कडा निर्देशन
दार्जीलिङ: दार्जीलिङका बासिन्दाहरूलाई नगरपालिकाद्वारा प्रदान गरिने नागरिक सुविधाहरू अझ चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ आइतबार दार्जीलिङमा एउटा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। राज्यकी शहरी विकास मन्त्री अग्निमित्रा पलको प्रमुख उपस्थितिमा भएको यस बैठकमा दार्जीलिङका सांसद राजु विष्ट, दार्जीलिङ नगरपालिकाका काउन्सिलरहरू (पार्षद) र वरिष्ठ प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकका महत्त्वपूर्ण झलक र तस्बिरहरू सांसद राजु विष्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ।
बैठकको नेतृत्व गर्दै मन्त्री अग्निमित्रा पलले दार्जीलिङ देशकै एउटा प्रमुख र प्रतिष्ठित पर्यटकीय गन्तव्य भएको स्पष्ट पार्नुभयो। उहाँले यति महत्त्वपूर्ण विश्वप्रसिद्ध शहरमा उचित फोहोर व्यवस्थापन प्रणाली लागू नगर्नुको पछाडि दार्जीलिङ नगरपालिकासँग अब कुनै बहाना वा कारण हुन नहुने भन्दै कडा निर्देशन दिनुभयो। बैठकका क्रममा मन्त्री पलले दार्जीलिङका सडकहरूको दयनीय अवस्था, जथाभाबी झुण्डिएका तारको अस्तव्यस्तता र ढल निकास (ड्रेनेज) को अभाव जस्ता गम्भीर समस्याहरू प्रति गहिरो असन्तुष्टि र चिन्ता व्यक्त गर्नुभयो।

सांसद राजु विष्टका अनुसार मन्त्री पलले दार्जीलिङ शहरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउनका लागि केही ठोस एवं व्यावहारिक योजनाहरू सुझाव गर्नुभएको छ, जसलाई आगामी दिनमा तीव्र गतिमा कार्यान्वयन गरिनेछ। बैठकमा अन-स्ट्रीट पार्किङ, सडक सुधार र आधुनिक नागरिक सेवाहरूको विस्तारबारे पनि विस्तृत छलफल भयो। दार्जीलिङको ऐतिहासिक गरिमालाई जोगाउँदै यहाँका जनताको हित र पर्यटनको विकासका लागि नगरपालिका र प्रशासनले युद्धस्तरमा काम गर्नुपर्ने कुरामा बैठकले जोड दिएको छ।









