चमर्ची फरेस्ट प्राइमेरी स्कुललाई पहिलो विष्णुरत्न शिक्षा पुरस्कार प्रदान

fbe6d272-6678-49aa-a6b8-818c13dcaebf

बाग्राकोट – हिजो आइतबार बाग्राकोटको टपलाइनस्थित भीमसेन भवनमा आयोजित विशेष कार्यक्रमबीच चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई पहिलो विष्णुरत्न शिक्षा पुरस्कार प्रदान गरियो। वरिष्ट साहित्यकार गोपालसिंह विश्वको अध्यक्षता एवम्  प्रा. डा. राजकुमारी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्मृति चिह्न र बाह्र हजार रुपियाँ सहयोग राशि पुरस्कार स्वरुप चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई प्रदान गरियो। पुरस्कार ग्रहण गर्न प्रभारी लगायत प्रापक पाठशालाका शिक्षक -शिक्षिकागण उपस्थित थिए। कार्यक्रममा ‘नुनको चिया’ का मूल लेखक बिमल लामा र यसका अनुवादक शमिक चक्रवर्ती ,सहकार्य र विष्णुरत्न शिक्षा पुरस्कारका प्रायोजक वेग वसन्त थापा,पुरस्कार प्रापक पाठशालाका प्रभारी शंकर घतानी मञ्चासीन थिए। डुयुसासंकी रोशनी भुजेलद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतीक्षा छेत्रीले गरेकी थिइन्। हालै दिवङ्गत बनेका विशिष्ट साहित्यकार गुप्त प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै आरम्भ गरिएको कार्यक्रम तीन चरणमा सम्पन्न भयो। दोस्रो चरणमा ‘नुन चा’ को नेपाली अनुवाद ‘नुनको चिया’को विमोचन अनि अन्तिम चरणमा अनुवाद साहित्यमाथि विमर्श कार्यक्रम समावेश रहेको थियो। डुवर्स युवा साहित्य संवाद अध्यक्ष मायादेवी शर्माले डुवर्सका नेपाली प्राथमिक पाठशालाहरूको वर्तमान अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेपछि अभिषेक विश्वकर्मद्वारा पठित सम्मान पत्रको साथमा चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई पहिलो विष्णुरत्न शिक्षा पुरस्कार प्रदान गरियो। पुरस्कार ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रापक पाठशालाका प्रभारी शंकर घतानीले पुरस्कार प्रायोजक, कार्यक्रम संयोजक लगायत अन्य सहयोगीहरूप्रति आभार प्रकट गरे। पुरस्कारले  पाठशालालाई अगाडि लिएर जाने हौसला प्रदान गरेको पनि घतानीले मन्तव्य गरे।पुरस्कार प्रायोजक वेग वसन्त थापाले परिवारपक्षमा कार्यक्रमलाई सम्बोधन गरे। सम्बोधनको क्रममा थापाले चमर्ची फरेस्ट लाइन प्राइमेरी स्कुललाई पुरस्कारको निम्ति सही रुपमा चयन भएको बताए।पाठशालालाई हिन्दी माध्यमबाट नेपाली माध्यममा परिणत गराउन विभिन्न तहबाट गरिएको परिश्रम र उपलब्धिलाई उल्लेख गर्दै लामो समयदेखि शिक्षण पेशासित संलग्न रहँदैआएका थापाले भने,बाबा-आमाप्रति श्रद्धाञ्जली अर्पण गर्नलाई शुरु गरिएको सामान्य पहल हो।सम्बोधनको क्रममा निक्कै भावुक देखिएका थापाले डुयुसासंको कार्यक्रमहरूको पनि खुलेर सराहना गरे।कार्यक्रममा जुरी सदस्यहरू शिक्षक सागर शर्मा र शिक्षक कुमार छेत्री पनि उपस्थित थिए।कुमार छेत्रीले जुरी सदस्यको रुपमा पुरस्कारको निम्ति अन्तिम छनोट गरिँदाका सहकार्य र अनुभवहरू साझा गरे।

कार्यक्रमको दोस्रो चरणमा ‘नुन चा’को नेपाली ‘नुनको चिया’को विमोचन वरिष्ट साहित्यकार गोपालसिंह विश्व,प्रा.राजकुमारी दाहाल,वरिष्ट समाजसेवी मिनबहादुर गुरुङ, यस उपन्यासका मूललेखक बिमल लामा ,अनुवादक शमिक चक्रवर्ती ,  डुवर्स नेपाली साहित्य विकास समिति मूलसचिव रबिन खवास,चर्चित कवि तथा गीतकार  वेग वसन्त थापा, शिक्षक शंकर घतानी,डुयुसासं अध्यक्ष मायादेवी शर्माको बाहुलीबाट गरियो।जसको घोषणा अध्यक्ष गोपालसिंह विश्वद्वारा गरियो। विमोचनपछि यसका मूललेखक बिमल लामाले मन्तव्य गरे।मन्तव्य गर्ने क्रममा लेखक लामाले पहाडको,घर गाउँ ,धनमानधुराको कथा लेख्ने क्रममा आन्दोलनको कुरा थपिएको जिकिर गरे। लेखक लामाले पहाडको कथा पहाडको भाषामा  ‘नुनको चिया’ भएर आएको कुरोमा हर्ष प्रकट गरे।’नुन चा’ को लेखन क्रममा आफूसित डुवर्सबारे पूर्ण आइडिया भइदिएको भए ‘नुनको चिया’को स्वरुप अर्कै हुनसक्थ्यो भन्दै बिस्मातको साथ बिमल लामाले  थपे, आगामी लेखनमा डुवर्सलाई मनमा राख्ने छु।उनले छुदेन काबिमोको ‘फातसुङ’मा डुवर्सको राम्ररी उल्लेख भएको विचार राखे।कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. राजकुमारी दाहालले भनिन्, नेपाली भाषीले बङ्गलामा लेखेका ‘नुन चा’लाई र बङ्गला भाषीले नेपाली ‘नुन चिया’मा  अनुवाद गर्नु सुखद् संयोग हो। बङ्गलामा चौथो संस्करणसम्म प्रकाशित भइसकेको ‘नुन चा’को नेपाली अनुवाद ‘नुनको चिया’को  शीर्षकले ध्वनित गरेका कुराहरू महत्त्वपूर्ण रहेको ठहर गरिन्।दोस्रो चरण अवधि सिमरन करले गजल वाचन गरिन्।

कार्यक्रमको अन्तिम चरणमा अनुवाद साहित्यमाथि अन्तरक्रिया कार्यक्रम भयो।जसमा प्रा. डा. राजकुमारी दाहाल अनुवादक शमीक चक्रवर्ती प्यानलमा रहेका उक्त कार्यक्रमलाई डुयुसासं मूलसचिव  नारायण काफ्लेले गरेका थिए।कुनै पनि साहित्यमा मूल र अनुदित दुवै कृतिको महत्व बराबरी रहने बताउँदै प्रा. डा. राजकुमारी दाहालले विभिन्न प्रश्नहरूका उत्तर दिने क्रममा नेपाली साहित्यमा अनुवादको स्थिति धेरै तल नरहेको र अन्य भारतीय विकसित भाषाको हाराहारीमा पुगिनहालेको अवस्था रहिआएको कुराको उल्लेख गरिन्।यसैबीच डा. दाहालले नेपाली साहित्यमा अनुवादको अवस्था पछिल्ला एक-डेड दशकदेखि निरन्तर प्रगति हुँदैआएको मन्तव्य पनि गरिन्।सोही अन्तरक्रिया कार्यक्रम अन्तर्गत शमीक चक्रवर्तीले विभिन्न प्रश्नका उत्तर दिने क्रममा फातसुङ,आज रमिता छ,उर्गेनको घोडा,टोकोलस आदि कृतिहरूका अनुवाद अवधि गरेका अनुभवहरू साझा गरे। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान र डुवर्स नेपाली साहित्य विकास समिति लगायत डुवर्सका विभिन्न सङ्गठनका प्रतिनिधिहरू,साहित्यकारहरू र स्थानीय साहित्यानुरागीहरूका बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षीय सम्बोधन अवधि गोपालसिंह विश्वले शमीक चक्रवर्तीले नेपाली भाषा र  बङ्गला भाषालाई जोड्ने एक सक्रिय सेतुको रुपमा कार्य गर्दैआएको बताए। कार्यक्रम सबैको सहयोग एवम् सहकार्यबाट सफलतापूर्वक सम्पन्न भएको बताउँदै नारायण काफ्लेले आयोजक पक्षमा धन्यवाद प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement