खरसाङ: २०१६ देखि बन्द अवस्थामा रहेका बालासन, धोत्रे, समरिक पानी अनि तुङसुङ चियाबारीहरुमा चिया श्रमिकहरुको अवस्थालाई बुझेर विधायक निरज जिम्बाद्वारा राहतस्वरुप दसैं अनि तिहारको निम्ति लत्ता कपडा वितरण कार्यलाई जारी राखेको जानकारी प्राप्त भएको छ। यसैक्रममा आज विधायक जिम्बाको टोली गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई अनि अरुण राईले बालासन चियाबारी भ्रमण गरी वृद्ध, बाल-बालिका अनि युवा युवतीहरुलाई लत्ता कपडा वितरण गरेका छन्।

वाई लामाले आज थप जानकारी गराउँदै मिडियालाई सम्बोधन गर्ने क्रममा भने, विधायक निरज जिम्बाको राहत कोषबाट बन्द चियाबारीहरुलाई मध्य नजर गर्दै हामीले दसैं अनि तिहारको उपहारस्वरुप लत्ताकपडा वितरण गरिरहेका छौं। बन्द चियाबारी अनि विपन्न परिवारहरुलाई प्राथमिकता दिन्दै कुनै पनि राजनैतिक दलहरु नछुट्टाई समग्रमा लत्ता कपडा वितरण गरिरहेका छौं। हामी सबैलाई दिन सक्दैनौं तर जहाँ अवस्था कमजोर छन् विपन्न परिवारका सदस्यहरुलाई उपहार स्वरुप लत्ताकपडा वितरण गरिरहेका छौं, यसैकारण कसैले पनि अन्यथा नलिन वाई लामाले सबैलाई अपिल समेत गरेका छन्। स्थानीय बालासन चियाबारीका नारद गुरुङले बन्द चियाबारीमा श्रमिकहरुको दुखलाई बुझ्दै दसैं अनि तिहारको उपहार स्वरुप लत्ताकपडा वितरण गरिदिएकोमा बिधायक निरज जिम्बा प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। यस सहयोगले चिया श्रमिकहरुलाई धेरै नै राहत पुगेको उनले जनाएका छन्।