सांसद राजु बिष्टद्वारा धन्यवाद ज्ञापन
दार्जीलिङ: दार्जीलिङ, तराई र डुअर्स क्षेत्रका चिया बगान तथा सिनकोना बगानका श्रमिक एवं बासिन्दाहरूका लागि एउटा खुसीको खबर आएको छ। लोकसभा सांसद राजु बिष्टले पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भेटेर बगान क्षेत्रमा सबै सरकारी आयोजना र कल्याणकारी योजनाहरू लागू गर्ने अनुमति दिएकोमा सम्पूर्ण जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। सांसद बिष्टले गत २९ मई २०२६ मा मुख्यमन्त्रीलाई पत्र लेखेर बगान क्षेत्रमा विकास निर्माण र जनकल्याणका कामहरू सञ्चालन गर्न अनुमति दिन अनुरोध गर्नुभएको थियो। उहाँले विगत १५ वर्षदेखि तृणमूल कांग्रेस (टीएमसी) सरकारले यस क्षेत्रका श्रमिकहरूलाई जानाजानी विभिन्न विकास परियोजना र कल्याणकारी योजनाहरूबाट वञ्चित राखेको र अवरोध सिर्जना गरेको आरोप पनि लगाउनुभयो।
मुख्यमन्त्रीको यस सामयिक आदेशपछि अब चिया र सिनकोना बगानका श्रमिकहरूले थुप्रै सरकारी सुविधाहरू सजिलै पाउने भएका छन्। यस निर्णयले बगान क्षेत्रमा आयुष्मान भारत योजना अन्तर्गत सहजै नाम दर्ता, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, र नयाँ आँगनवाडी तथा आईसीडीएस केन्द्रहरूको स्थापना गर्ने मार्गप्रशस्त गर्नेछ। यसका साथै जल जीवन मिशनको पहुँच सुनिश्चित हुनेछ भने बगानमा पूर्ण रूपमा काम नपाउनेहरूका लागि जी-राम अन्तर्गत १२५ दिनको काम उपलब्ध गराइनेछ। साथै, राष्ट्रिय ग्रामीण जीविकोपार्जन मिशन र राज्य सीप मिशनहरू मार्फत वैकल्पिक जीविकोपार्जनका अवसरहरू प्रदान गरिनेछ।
रुग्ण र बन्द अवस्थामा रहेका चिया बगानका श्रमिकहरूका लागि विविधीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ। महिलाहरूलाई स्वयं सहायता समूह र लघु उद्यमहरू मार्फत अघि बढाइनेछ भने बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा, छात्रवृत्ति, दिवा खाजा (मिड-डे मिल) र व्यावसायिक तालिमको व्यवस्था गरिनेछ। यसबाहेक परिवारहरूले राष्ट्रिय सामाजिक सहायता कार्यक्रम (एनएसएपी) अन्तर्गत वृद्धभत्ता, एकल महिला (विधवा) भत्ता र अपाङ्गता भत्ता पाउनेछन्। परिमार्जित सार्वजनिक वितरण प्रणाली (पीडीएस) का साथै अन्त्योदय अन्न योजना र अन्नपूर्णा योजनाको लाभ पनि श्रमिक परिवारलाई उपलब्ध हुनेछ।
यस ऐतिहासिक आदेशपछि बगान क्षेत्रमा पूर्वाधार विकासको कामले पनि तीव्रता पाउनेछ। ग्रामीण सडक निर्माणका लागि प्रधानमंत्री ग्राम सड़क योजना (पीएमजीएसवाई), प्रधानमंत्री आवास योजना, ग्रामीण तथा सहरी (पीएमएवाई) अन्तर्गत श्रमिकहरूका लागि आवास र भरपर्दो बिजुली आपूर्तिको कामलाई तीव्र गतिमा अघि बढाइनेछ। स्वच्छ भारत मिशन-ग्रामीण कार्यक्रमहरू पनि अब विना कुनै क्षेत्राधिकारको अवरोध सहज रूपमा सञ्चालन हुन सक्नेछन्।
सांसद राजु बिष्टले माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भाजपा सरकारले यस क्षेत्रका चिया र सिनकोना श्रमिकहरूका समस्या समाधान गर्न ठोस कदम चालेको बताउनुभएको छ। उहाँले एसआईआर प्रक्रिया मार्फत सहयोग गर्नेदेखि लिएर कल्याणकारी योजनाहरू लागू गर्नेसम्मका कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनहरूमा क्षेत्रका जनताका लागि अझ धैरे खुसीका समाचारहरू साझा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।











