ममता बनर्जीको राजनीतिक करियर संकटमा
काेलकाता: दुई दिनअघि मात्र तृणमूल कांग्रेसबाट निष्कासनमा परेका बागी विधायक ऋतब्रत बनर्जी पश्चिम बंगाल विधानसभामा विपक्षी दलको नेता बनेका छन्। विधानसभा अध्यक्ष रथींद्र बसुले बागी विधायकहरूका तर्फबाट पेस गरिएको समर्थन पत्रलाई स्वीकृत गर्दै विपक्षको नेताका लागि छुट्याइएको कार्यकक्षको साँचो ऋतब्रतलाई हस्तान्तरण गरेका हुन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै बनर्जीले तृणमूल कांग्रेसको टिकटमा निर्वाचित भएका दुई-तिहाइ विधायकहरू आफूहरूको साथमा एकजुट रहेको र हाल ६० जना विधायकको समर्थन प्राप्त भइसकेको दाबी गरे। १८औँ पश्चिम बंगाल विधानसभामा मुख्य विपक्षको रूपमा मान्यता पाएको आफ्नो समूहले सदनमा भाजपाको दृढतापूर्वक सामना गर्ने र एक जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। यसै क्रममा ऋतब्रतले तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीलाई आफ्नो मुख्य सल्लाहकार बनेर मार्गदर्शन गर्न समेत अपील गरेका छन्। बागी गुटले आफ्नो संसदीय दलको नयाँ कार्यसमिति बनाउँदै अखरूजम्माँलाई मुख्य सचेतक तथा जावेद अहमद खान, सबीना यास्मीन, शिउली साहा र संदीपन साहालाई उपनेता चयन गरेको छ।
यता, तीव्र राजनीतिक उतारचढावकै बीच कोलकाता नगर निगमका मेयर फिरहाद हकीमले आफ्नो पदबाट राजीनामा दिएका छन्। तृणमूल कांग्रेसका वरिष्ठ नेताहरूका अनुसार पार्टीमा आउन सक्ने सम्भावित फुटलाई ध्यानमा राख्दै ममता बनर्जीको निवासमा बसेको बैठकमा हकीमले राजीनामा दिने इच्छा व्यक्त गरेका थिए र ममताको सहमतिपछि पद त्यागेका हुन्। पार्टी नेता कुणाल घोषले राज्य सरकारले नगर निगमलाई व्यावहारिक रूपमा निष्क्रिय बनाएका कारण वरिष्ठ नेता फिरहाद हकीमको गरिमा र प्रतिष्ठा जोगाउन ममता बनर्जीले उनलाई राजीनामाको अनुमति दिएको स्पष्ट पारेका छन्। यो घटनाक्रम विकसित हुनुअघि नै ममता बनर्जीले पार्टीका सम्पूर्ण समिति र संगठनहरू भङ्ग गरिसकेकी छन् भने हाल उनी आफ्नो निवासमा अभिषेक बनर्जी, कुणाल घोष र पूर्वमन्त्री चन्द्रिमा भट्टाचार्यसँग आगामी रणनीतिका बारेमा गहन छलफलमा छिन्।
लगातार १५ वर्षसम्म पश्चिम बंगालको सत्ता सम्हालेकी ममता बनर्जीका लागि हालै सम्पन्न विधानसभा चुनावमा व्यहोर्नुपरेको पराजय राजनीतिक जीवनकै सबैभन्दा ठूलो चुनौती साबित भएको छ। चुनावको नतिजा सार्वजनिक भएलगत्तै पार्टीभित्र सुरु भएको तीव्र विद्रोह र राजीनामाको शृङ्खलाले राजनीतिक वृत्तमा अब तृणमूल कांग्रेस पनि सन् २०२२ को महाराष्ट्र मोडल जस्तै गरी फुट्ने त होइन भन्ने आशंका जन्माएको छ। सत्ता गुम्ने बित्तिकै पार्टीको नेतृत्व र कार्यशैलीमाथि सार्वजनिक रूपमै प्रश्नहरू उठ्न थालेका छन् भने कथित नक्कली हस्ताक्षर घोटाला र पुराना नेताहरूको असन्तुष्टिले ममताको टाउको दुखाइ थप बढाएको छ। हालै मात्र लोकसभामा पार्टीको मुख्य सचेतकको पदबाट हटाइएकी चार पटककी सांसद काकोली घोष दस्तीदारले समेत सामाजिक सञ्जालमार्फत आफ्नो चार दशकको निष्ठाको यस्तो फल मिलेको भन्दै आक्रोश पोखेकी थिइन्। यद्यपि, प्रतिकूल परिस्थितिमा संघर्ष गरेरै आएकी जमीनकी नेता भएकाले ममता बनर्जीले हार नमानी पार्टी बचाउने नयाँ रणनीतिमा काम सुरु गरिसकेको दाबी उनी निकट नेताहरूले गरेका छन्।









