मिरिक: ‘हाम्रो डुप्टिन’ पत्रिका परिवार अनि मिरिक साहित्य सुनौको संयुक्त आयोजनामा कथाकार गणेश बराइलीकृत कथा संग्रह ‘मनोयोग’को डुप्टिन सार्वजनिक भवनमा विधिवत रूपमा लोकार्पण गरियो। ‘हाम्रो डुप्टिन’ पत्रिकाका प्रमुख सम्पादक विष्णु कुमार बराइलीले सञ्चालन गरेको कार्यक्रम साहित्य सुनौ परिवारका अध्यक्ष राजबहादुर राईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण प्रधान प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने साहित्य सुनौ परिवारकी सचिव शिला लामा, माधव वुडाथोकी, ओम कुमार गुरूङ, एम एल दियाली, वाई एन ढकाल, अमर दुङमाली, पूर्ण वान्तवा, मरमा प्रेमसुन्दर उच्चतर माध्यमिक विद्यालयका पूर्व शिक्षक प्रभारी भक्त गदाल, पीएल जोशी, समाजसेवी दुर्गाप्रसाद छेत्री, हाम्रो डुप्टिन पत्रिकाका प्रकाशक भूपू कप्तान मिलन चोङबाङ, एसबी गजमेर विभिन्न ठाउँबाट आएका साहित्यप्रेमीहरू लगायत गाउँ समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा भारतीय नेपाली साहित्यका वरिष्ठ कथाकार स्वर्गीय गुप्त प्रधानको आत्मशान्तिको कामना गर्दै एक मिनटको मौन पालन गरियो। कार्यक्रममा ब्राईट लाईन एकडेमीका प्रधान अध्यापक राजु सुब्बाले स्वागत भाषण राखेका थिए भने बालकुमार घिमिरेले स्वागत गीत प्रस्तुत गरे। यसरी नै ब्राईट लाईन एकाडेमीका विद्यार्थीहरूले नृत्य पनि प्रस्तुत गरेका थिए। यता कार्यक्रमा कमला तामाङ, नगिता लेप्चा (राई) जिनर घतानी, अजम प्रधान, गोकुल रसाईली, दीप जोशी, सुमित्र रूमदाली, विनोद खाती, विनय राई आदिले कविता वाचन गरे। कार्यक्रममा उपस्थित समारोह अध्यक्ष, प्रमुख अथिति अनि विशिष्ठ अथितिहरूको अनि कृतिकार गणेश बराईलीको बाहुलीबाट उनको छैटौ कृति मनोयोगको विधिवत रूपमा लोकार्पण गरियो। पुस्तक लोकार्पणपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा कृतिकार गणेश बराईलीले भने, ‘मनोयोग कथा संग्रह काल्पानिक होइन। यस संग्रहभित्र समाजमा भइरहेको विभिन्न घटनाहरूलाई लिएर लेखिएका कथाहरू छन्। संग्रहमा मैले तीसवटा कथाहरू समावेश गरेको छु। जसमा छोटो छोटो कथाहरू रहेको छl समाजमा घटेका कतिपय घटनाहरूलाई हामी अदेखा गर्ने गर्दछौंl जसले हाम्रो गाउँ समाज विघटित भएर जाने गरेको छl’ यसैलाई सुधार ल्याउन पनि मनोयोग पाठकहरूलाई पढिदिने आह्वान गरे। उनले आउँदो दिनमा एउटा नियात्रा संग्रह लोकार्पण गर्ने तयारीमा रहेको बताए।