गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को एउटा महत्त्वपूर्ण र उच्चस्तरीय साङ्गठनिक सभा आज पार्टी अध्यक्ष पवन चामलिङको निजी निवासमा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले राजनीतिमा विचार र सिद्धान्तको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “असल नेता उसँग रहेको असल विचारले बन्छ, असल विचारले नै असल सिद्धान्त बनाउँछ। त्यही असल सिद्धान्तले मात्र असल नीति बनाउँछ, असल नीतिले असल कार्यक्रम र असल कार्यक्रमले मात्र जनमुखी एवं असल सरकार बनाउँछ।”
पूर्व मुख्यमन्त्री चामलिङले वर्तमान क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारमाथि प्रहार गर्दै अहिले सिक्किममा असल सरकार नहुनाले एसडीएफको २४ वर्षे स्वर्णिम कालमा प्रफुल्लित रहेका जनसाधारण आज दुःखको भुमरीमा परेको दाबी गर्नुभयो। उहाँले सिक्किमेली जनतालाई न्याय दिलाउन, उनीहरूको खोसिएको हक-अधिकार पुनर्स्थापना गर्न र पुनः सुखमय जीवन फर्काउनका निम्ति एसडीएफ पार्टीका सम्पूर्ण कार्यकर्ताहरू कम्मर कसेर लाग्नुपर्ने आह्वान गर्नुभयो।
आफ्नो सरकारका जनमुखी कार्यहरूको स्मरण गराउँदै चामलिङले भन्नुभयो, “एसडीएफ सरकारकालमा कृषि उत्पादित सामग्रीहरूमा लाग्ने सम्पूर्ण कर (ट्याक्स) हरू मिनाहा गरिएको थियो। किसानहरूले आफ्ना उत्पादनहरू बजारमा बेच्दा कुनै कर तिर्नु पर्दैनथ्यो। ग्रामीण क्षेत्रमा बिजुली बत्ती निःशुल्क गरिएको थियो, तर अहिलेको सरकारले हरेक कुरामा कर लादेर जनताको कम्मर भाँच्ने काम गरेको छ।” उहाँले विगतमा पशुपालन र सागसब्जी उत्पादन मौलाएर गएको र ग्रामीण जनताको जीवनमा छाएको खुसीयाली एसडीएफ सरकारकै असल नीति र कार्यक्रमको सुखद फल रहेको दाबी गर्नुभयो।
चामलिङले वर्तमान व्यवस्थामा ती सबै जनमुखी सुविधाहरू मासिएर गएकाले नै आज ग्रामीण जनता चरम पीर र मर्कामा परेको बताउनुभयो। एसडीएफ पार्टीले जनताबाट खोसिएको त्यही खुसीयाली र न्याय फर्काएर पुनः जनतालाई सुम्पिने पूर्ण जिम्मेवारी लिनुपर्ने उहाँले प्रस्ट पार्नुभयो। जनतालाई आत्मनिर्भर बनाउन पार्टीले गाउँ-गाउँमा जनसङ्गठनहरू निर्माण गर्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो।
कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्दै चामलिङले भन्नुभयो, “जनतालाई उनीहरूको हक, हित र सुरक्षाबारे अवगत गराउनुका साथै उनीहरूको वास्तविक शत्रु को हो, त्यो चिनारी गराइदिनु पर्छ। आफ्ना हक र सुरक्षाका लागि अघि बढ्ने र शत्रुसँग लड्न सक्ने गरी जनतालाई सचेत र सक्षम बनाउनु पर्छ र यस कार्यमा पार्टीले पूरा साथ दिनेछ।” पार्टीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सभामा उपस्थित अन्य वरिष्ठ सदस्यहरूले पनि आ-आफ्नो महत्त्वपूर्ण सुझाउ राख्दै पार्टीको यस क्रान्तिकारी सन्देशलाई गाउँ-गाउँ र कुना-कुनाका जनतासम्म पुर्याउने दृढ सङ्कल्प व्यक्त गरेका छन्।











