आकाशवाणी खरसाङको ६५औं स्थापना दिवस मिरिकमा सांगीतिक कार्यक्रम रुपमा सम्पन्न

IMG-20260602-WA0086

आकाशवाणीले साहित्य, कला, शिक्षा, संगीत, खेलकूदलाई संरक्षण गर्न र कलाकारहरुलाई मञ्च प्रदान गर्दै आएको छ: जितेन कुमार रोय

मिरिक: आकाशवाणीको ९० वर्ष अनि आकाशवाणी खरसाङको ६५औं स्थापना दिवस मिरिकको कृष्ण नगरस्थित गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। उमेश कार्कीढोली अनि
सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पद्मश्री डा.जी एस योञ्जन प्रमुख रूपमा उपस्थित थिए भने आकाशवाणीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोय, आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बा, कार्यक्रम निष्पादकद्वय मनन तामाङ, योजना मोहरा, प्रसारण निष्पादक लेखनाथ राई, समाचार विभाग प्रभारी अशोक चौरासिया, साहित्य सुनौँ परिवारका अध्यक्ष अमर दुङमाली, गोपाल योञ्जन प्रतिष्ठान मिरिकका अध्यक्ष सुकबहादुर गजमेर, सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई लगायत आकाशवाणी खरसाङका कर्मचारी साथै अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत सम्भाषण आकाशवाणी खरसाङको कार्यक्रम सह निर्देशक राजीव सुब्बाले राखेका थिए।कार्यक्रममा अतिथि कलाकारको रूपमा उपस्थित वरिष्ठ गायिका तथा संगीतकार हिरा रसाईली, प्रवल थापाले आफ्नोे प्रस्तुति दिएका थिए। यसको साथै रन्जिता सुनार, अभिनव रसाईली अनि सुशान्त मोक्तानले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा आकाशवाणी सिलगढीका कार्यालय प्रमुख एंव क्लष्टर हेड जितेन कुमार रोयले आफ्नो वक्तव्यमा आकाशवाणी ८ जून १९३६ देखि अल ईण्डिया रेडियोको नाममा शुरु भएको र यसलाई कवि गुरु रबिन्द्रनाथ टेकरले आकाशवाणीको नाम दिएको बताए। उनले त्यसरी नै आकाशवाणी खरसाङको स्थापना २ जून १९६२ मा भएको बताउँदै आकाशवाणी खरसाङले पहाडको साहित्य, कला, शिक्षा, संगीत, खेलकूदलाई संरक्षण गर्न र कलाकारहरुलाई मञ्च प्रदान गर्दै आएको बताए। जितेनकुमार रोयले आकाशवाणीले निरन्तर रुपमा यहाँ साहित्य, संगीत, कला, संस्कृति र कलाकारहरुलाई लिएर कार्य गर्दै आएको पनि बताएका छन्‌। यस सांगीतिक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु र सांगितीक टोलीका सदस्यहरुलाई विशिष्ट अतिथि जितेन कुमार रोयको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक मनन तामाङले राखेका थिए।

कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजिब सुब्बाले आकाशवाणीको गौरवशाली ९० वर्ष पुगेको अवसरमा गत ८ जून २०२५ देखि ८ जून २०२६ सम्म विविध कार्यक्रमहरू आयोजना गर्दै आएको र तसै क्रममा आज मिरिकमा सांगीतिक कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले आकाशवाणीको यस कार्यक्रममा उपस्थित अतिथिहरु र सहभागी सबै कलाकारहरुलाई आकाशवाणीको तर्फबाट धन्यवाद दिएका छन्।

About Author

Advertisement