१७ अक्टोबरः ईंग्लिश प्रीमियर लीगमा लिभरपूलले वर्तमान च्याम्पियन म्यानचेष्टर सिटीको अजेय अभियानमा विराम लगायो। यसरी नै आर्सनल र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो। आइतवार खेलिएको हाई भोल्टेज म्याचमा लिभरपूलले शक्तिशाली म्यानचेष्टर सिटीलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा केवल ३६ प्रतिशत पोजेशनको साथ खेल्दै लिभरपूललाई मोहम्मद सलाहले जीत दिलाए। सलाहले म्याचको ७६औं मिनटमा जीत दिलाए। युवा एर्लिंग हालाण्डको अगुवाईमा लगातार आक्रमण गर्ने सिटीले पूरा म्याचमा लगातार प्रयास गरे पनि गोल गर्न सकेन। यस जीतको साथै लिभरपूल ९ वटा म्याचमा १३ पोइण्टको साथ प्रीमियर लीग टेबलको आठौं स्थानमा रहन पुग्यो। यसरी नै म्याच हारेर पनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा कायम रहने सिटीसँग अहिले २३ पोइण्ट रहेको छ। प्रीमियर लीगको जारी सीजनमा यो सिटीको पहिलो हार हो।

यसबीच आर्सनलले लीड्स युनाइटेड विरुद्ध १-०-ले जीतको साथ आफ्नो शीर्ष स्थानलाई दह्रिलो बनायो। लीड्स युनाइटेडको होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट एकमात्र गोल बुकायो साकाले ३५औं मिनटमा छिराए। यस जीतपछि शीर्ष स्थानमा रहने आर्सनलको १० वटा म्याचमा २७ पोइण्ट पुग्यो। उनीहरूसँग अहिले दोस्रो स्थानमा रहने सिटीभन्दा ४ पोइण्ट अधिक रहेको छ। यसरी नै लीड्स युनाइटेड ९ पोइण्ट लिएर १५औं स्थानमा रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा चेल्सीले एस्टन भिल्लालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल मेसन माउण्टले छिराए। उनले छैटौं र ६५औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी ९ वटा म्याचमा १९ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। यसबीच म्यानचेष्टर युनाइटेड र न्यूक्यासलबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यस ड्र-पछि म्यानचेष्टर युनाइटेड ९ वटा म्याचमा १६ पोइण्ट लिएर पाँचौं स्थानमा रहन पुग्यो। यसरी नै छैटौं स्थानमा रहने न्यूक्यासलसँग १० वटा म्याचमा १५ पोइण्ट रहेको छ।