खरसाङ: खरसाङको रोहिणी रोडमा लगाइएको टोल ट्याक्स हटाइएको निर्णयप्रति हामी हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछौं भनी भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले बताएका छन्। आज सोमवारदेखि रोहिणी रोडमा रहेको टोल प्लाजामा कुनै टोल ट्याक्सबिना नै गाडीहरु कुद्न शुरु भएपछि भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद लगायत भाजपा टोली रोहिणी रोडमा रहेको टोल प्लाजामा पुगेर भारतीय जनता पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरेका छन्। रोहिणी रोडलाई टोलमुक्त गरिएको विषयमा भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले भने, रोहिणी सडक स्वर्गीय सुभाष घिसिङको देन हो। पहाड र तराईलाई जोड्ने यस महत्वपूर्ण सडकलाई जनताको सहज आवतजावत, विकास तथा जनकल्याणको माध्यमको रूपमा स्थापित गर्ने उहाँको सपना थियो। आज यस सडकलाई अझ सहज, सुचारु तथा जनकल्याणको जीतको रूपमा प्रयोग गर्नु हाम्रो दायित्व हो।’
उनले प्रेस विज्ञप्ति जारी गर्दै अघि भने, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक स्वर्गीय सुवास घिसिङको दूरदर्शी सोच र जनमुखी संघर्षलाई स्मरण गर्दै हामी भाजपा परिवारको तर्फबाट माननीय सांसद राजु विष्टलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं, जसले निरन्तर पहल तथा प्रयासद्वारा रोहिणी टोल ट्याक्स हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।’
उनले अझ भने, ‘यस निर्णयले हजारौं यात्री, चालक, व्यापारी तथा सर्वसाधारणलाई ठूलो राहत पुगेको छ। अब जनताले टोल ट्याक्समा खर्च हुने रकम आफ्नै परिवार, व्यवसाय तथा आवश्यक कार्यमा उपयोग गर्न सक्नेछन्।’

भाजपा जिल्ला सचिव बिनय प्रसादले भनेका छन्,“जनताको हित, जनताको सुविधा” भन्ने भावनासहित गरिएको यस कार्यको हामी स्वागत गर्दछौं।
स्वर्गीय सुभाष घिसिङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, जनताको पक्षमा निरन्तर काम गरिरहनु हुने माननीय सांसद श्री राजु बिष्टज्यूलाई पुनः धन्यवाद ज्ञापन गर्दछौं।’










