सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा सगरमाथा दिवस मनाइयो*

1aa37bd9-eae9-458d-b7e9-b7fa4c157ab5

वासिङ्टन: ‘सगरमाथा, विश्वको सर्वोच्च शिखर: नेपालको पहिचान र गौरव’ नारासहित अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा शनिवार सगरमाथा दिवस मनाइएको छ।
कार्यक्रमको शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट भएको थियो। यस अवसरमा सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथा दिवसको महत्वबारे प्रकाश पार्दै नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको बारेमा जानकारी गराए।
महावाणिज्य दूतावासका अनुसार उनले कार्यक्रममा उपस्थितहरूलाई नेपाललाई आगामी पर्यटकीय गन्तव्यका रूपमा छान्न आग्रह गरे।
महावाणिज्यदूत खनालले मार्च २०२६ मा नेपालमा सुशासन र आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएर बलियो जनादेशसहितको सरकार गठन भएको जानकारी दिए। उनले सरकारले लगानीमैत्री नीतिगत सुधार र प्रोत्साहन कार्यक्रम अघि बढाइरहेको बताए।
उनले व्यवसायीहरूलाई पूर्वाधार, पर्यटन, सेवा क्षेत्र तथा सूचना प्रविधि आईटी उद्योगमा लगानीको सम्भावना अध्ययन गर्न पनि आग्रह गरे।
अमेरिकी विदेश मन्त्रालयको सान फ्रान्सिस्कोस्थित विदेशी नियोग कार्यालयका क्षेत्रीय निर्देशक जोन वाई चोईले सगरमाथाको पहिलो सफल आरोहणको स्मृतिमा मनाइने यो दिवसको अवसरमा नेपाल र नेपाली समुदायलाई बधाई दिए। उनले हालका वर्षहरूमा अमेरिका-नेपाल सम्बन्ध सबै तहमा थप मजबुत भएको बताए।
उनले अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा दुवै देशबीच बढ्दो संवाद र सहयोगलाई पारस्परिक सम्बन्धको मजबुतीको प्रतीक भने।
क्यालिफोर्नियाका लेफ्टिनेन्ट गभर्नरका वैदेशिक मामिला सल्लाहकार इभान रिडले अमेरिका र नेपालबीचको बढ्दो सम्बन्ध र साझेदारीबारे चर्चा गर्दै अवसर र नवप्रवर्तनको केन्द्र क्यालिफोर्निया तथा हिमालयको प्रवेशद्वार नेपालबीच जनस्तरको सम्बन्ध निरन्तर गहिरो हुँदै गएको बताए।
उनले व्यापार, पर्यटन, शिक्षा र वातावरण संरक्षणको क्षेत्रमा सहकार्य बढाउन जोड दिए।
रिचमन्ड शहरका मेयर एडुआर्डो मार्टिनेजले सगरमाथा दिवस नेपाल र विश्वका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले रिचमन्डमा ठूलो संख्यामा रहेका नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै नेपाली समुदायको योगदान शहरको सामाजिक संरचना र आर्थिक विकासमा महत्वपूर्ण रहेको बताए।
महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्ति अनुसार हर्कुलस सिटीका निर्वाचित काउन्सिल सदस्य दिली भट्टराईले ७३ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक महत्वबारे चर्चा गरे। उनले यो उपलब्धिले मानवजातिलाई नयाँ उचाइमा पुग्न प्रेरणा दिइरहेको बताए।
क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लीकी अनुसन्धानकर्ता नीमा शेर्पाले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी आफ्नो अनुसन्धान निष्कर्ष प्रस्तुत गरिन्।
कार्यक्रममा सान फ्रान्सिस्को बे एरियामा बसोबास गर्ने चार जना सगरमाथा आरोहीलाई प्रशंसापत्र दिएर सम्मान गरिएको थियो। पाँच पटक सगरमाथा आरोहण गरिसकेका ल्हाक्पानोर्बु शेर्पाले आफ्नो अनुभव साझा गर्दै उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे चर्चा गरे।
यही अवसरमा मेघा शर्माले आफ्नो ‘स्मरणीय एभरेस्ट बेस क्याम्प यात्रा’ को अनुभव सुनाउँदै सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरिन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसकी प्राध्यापक तथा पूर्व पीस कोर्प्स स्वयंसेवक डा. फेथ बाउचरले नेपाल र नेपाली जनतासँगका आफ्ना अनुभव साझा गरिन्।
कार्यक्रममा विभिन्न सरकारी अधिकारी, सान फ्रान्सिस्को कन्सुलर कर्प्सका सदस्य, नेपालका शुभेच्छुक, विभिन्न संस्थाका प्रतिनिधि, शिक्षाविद्, नेपाली उद्यमी, अनुसन्धानकर्ता तथा बे एरिया र साक्रामेन्टोका नेपाली सामुदायिक संस्थाका प्रतिनिधिसहित ७० जनाभन्दा बढीको सहभागिता थियो।
महावाणिज्य दूतावासले यो कार्यक्रममार्फत सगरमाथाको अन्तर्राष्ट्रिय महत्व उजागर गर्नुका साथै नेपाल-अमेरिका सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र सांस्कृतिक आदानप्रदानलाई थप मजबुती मिल्ने विश्वास व्यक्त गरेको छ।

About Author

Advertisement