कोलकाता: नियमित मर्मत सम्भार कार्यका लागि आगामी आइतबार दोस्रो हुगली सेतु अर्थात् विद्यासागर सेतु आठ घण्टाका लागि पूर्ण रूपमा बन्द रहने भएको छ। त्यस दिन बिहान ६ बजेदेखि अपराह्न २ बजेसम्म यस पुलमा सबै प्रकारका सवारी साधनको आवतजावतलाई पूर्ण रूपले बन्द गर्ने निर्णय लिइएको छ। बिहीबार प्रशासनिक स्रोतबाट प्राप्त जानकारी अनुसार पुलको आपतकालीन स्वास्थ्य जाँच तथा केबल एवं अन्य प्राविधिक तथा मेकानिकल पूर्वाधारको मर्मत सम्भार गर्नका लागि यो अस्थायी प्रतिबन्ध लगाइएको हो। आठ घण्टासम्म पुल बन्द हुने भएपछि कोलकाता र हावडाबीच यात्रा गर्ने यात्रुहरूलाई मर्का नपरोस् भनी वैकल्पिक मार्ग प्रयोग गर्न वा निवेदिता सेतु तथा हावडा पुलको उपयोग गर्न प्रशासनले सल्लाह दिएको छ।










