कोलकाता: मुख्यमन्त्री शुभेन्दु अधिकारीले महान स्वतन्त्रता सेनानी विनायक दामोदर सावरकरको जयन्तीको अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मुख्यमन्त्री अधिकारीले सावरकरको अतुलनीय योगदान र राष्ट्रभक्तिलाई स्मरण गरेका हुन्। मुख्यमन्त्री अधिकारीले आफ्नो सन्देशमा स्वाधीनता सङ्ग्रामी वीर सावरकरको अतुलनीय बलिदान, अदम्य साहस र मातृभूमिप्रतिको समर्पणले भारतको स्वतन्त्रता सङ्ग्रामलाई एउटा नयाँ प्रेरणा दिएको उल्लेख गरे। देशको स्वाधीनताका लागि सावरकरले गरेको सङ्घर्ष र त्यागले आज पनि लाखौँ राष्ट्रवादीहरूलाई प्रेरित गरिरहने कुरा उनले बताए।
सावरकरलाई एक दूरदर्शी विचारक एवं महान स्वतन्त्रता सेनानीको संज्ञा दिँदै मुख्यमन्त्रीले उनको जीवन देशभक्ति, साहस र राष्ट्रसेवाको अनुपम प्रतीक भएको स्पष्ट पारे। इतिहासमा विनायक दामोदर सावरकरलाई “स्वातन्त्र्यवीर सावरकर” का नामले पनि चिनिन्छ। उनी भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख क्रान्तिकारीहरूमध्ये एक थिए। उनले ब्रिटिश शासनको विरुद्धमा भएका अनेकौँ आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउनुका साथै आफ्ना प्रखर विचार र लेखनका माध्यमबाट युवाहरूमा राष्ट्रभक्तिको भावना जागृत गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।









