नक्सलबारी: पश्चिम बंगालको सिलगढी महकुमा अन्तर्गत नक्सलबारी ग्रामीण अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको घटनालाई लिएर रातभरि निकै तनावपूर्ण स्थिति सिर्जना भयो। पीडित परिवारले अस्पताल प्रशासनमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्।
आरोप अनुसार, स्टेसन पाडाकी एकजना गर्भवती महिलालाई गत बुधबार अबेर साँझ अस्पतालमा भर्ना गरिएको थियो। तर, प्रसव पीडा हुँदा पनि ड्युटीमा रहेका डाक्टरहरूले ती महिलामाथि कुनै ध्यान दिएनन्। कुनै उपाय नलागेपछि बाध्य भएर महिलाले अस्पताल परिसरमै शिशुलाई जन्म दिनुपर्यो।
बताइए अनुसार, जन्मिएपछि शिशु रोएको पनि थियो, तर केही समयमै उसको मृत्यु भयो। शिशुको ज्यान गएपछि आक्रोशित बनेका परिवारजन र आफन्तहरूले अस्पतालमा विरोध प्रदर्शन सुरु गरे।
घटनाको जानकारी पाएलगत्तै पुलिस र ब्लक स्वास्थ्य अधिकारी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएका थिए। पीडित परिवारले ड्युटीमा तैनाथ डाक्टरमाथि कडा कारबाही गर्न र उनलाई निलम्बन गर्न माग गर्दै थानामा लिखित उजुरी दर्ता गराएका छन्। हाल पुलिस र स्वास्थ्य विभागले यस मामिलाको जाँच गरिरहेका छन्।










