सीबीएसईको त्रिभाषा नीतिको विरोधमा भाजपा नेता अन्नामलाई, निर्णय फिर्ता लिन माग

k-annamalai

चेन्नई: भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता के. अन्नामलाईले केन्द्र सरकारको निर्णयको विरोध गर्दै केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) द्वारा कक्षा ९ का विद्यार्थीका लागि जारी गरिएको त्रिभाषा अनिर्वायतासम्बन्धी नयाँ अधिसूचना तत्काल फिर्ता लिन माग गरेका छन्। केन्द्रमा सत्तारूढ आफ्नै दलको नीतिको असहमति जनाउँदै नेता अन्नामलाईले यस नयाँ व्यवस्थालाई शैक्षिक वर्ष २०२९-३० देखि मात्र लागू गर्न केन्द्रीय शिक्षा मन्त्रालयसँग आग्रह गरेका हुन्। सीबीएसईले गत मे १५ मा एक अधिसूचना जारी गर्दै चालु शैक्षिक वर्षदेखि नै कक्षा ९ मा तेस्रो भाषा अनिवार्य रूपमा पढ्नुपर्ने र त्यसमा दुईवटा भारतीय रैथाने भाषा हुनुपर्ने नियम अघि सारेको छ। यसअघि यो नीति २०२९-३० को शैक्षिक सत्रदेखि लागू गर्ने समयसीमा तोकिएको भए पनि बोर्डले समयभन्दा निकै अगाडि यसलाई कार्यान्वयनमा ल्याएको हो।
​नेता अन्नामलाईले सरकारको यस अचानक परिवर्तनलाई विद्यार्थी र अभिभावकहरूका लागि असुविधाजनक र तनावपूर्ण भएको टिप्पणी गरेका छन्। विशेष गरी तमिलनाडुका विद्यार्थीहरूले कक्षा ६ मै आफ्नो रुचि अनुसारको भाषा चयन गरिसकेकाले कक्षा ९ मा पुगेर छोटो अवधिमा नयाँ भाषा सिक्नुपर्ने बाध्यताले उनीहरूको समग्र सिकाइको नतिजामा नकारात्मक असर पर्ने उनको दाबी छ। गत अप्रिल २०२६ मा सीबीएसईले कक्षा ६ का लागि त्रिभाषा नीति ल्याउँदा आफूले स्वागत गरेको उल्लेख गर्दै अन्नामलाईले त्यतिबेला कक्षा ९ का लागि २०२९-३० को समयसीमा स्पष्ट तोकिएकाले अहिले आएर हतारमा निर्णय परिवर्तन गरिनु उपयुक्त नभएको बताएका छन्। उनले विद्यार्थीमाथि अतिरिक्त मानसिक र शैक्षिक दबाब सिर्जना नगर्न मन्त्रालयले पुरानै समयसीमा कायम गर्नुपर्नेमा जोड दिएका छन्।

About Author

Advertisement