इस्लामावाद: पाकिस्तानको आणविक क्षमताबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइले छिमेकी देशमा त्रास फैलाएको छ। पाकिस्तानलाई ‘विश्वकै खतरनाक देश’ भन्ने टिप्पणीले शाहबाज सरकार स्तब्ध भएका छन्। योसँगै विपक्षी दल इमरान खानले सरकारलाई निशाना बनाउने अर्को मौका पाएका छन्। उनले भने, ‘अमेरिकासँगको सम्बन्ध सुधार गर्ने दाबी गर्ने सरकारको परराष्ट्र नीतिको असफलतालाई उक्त वक्तव्यले झल्काउँछ। इमरान खानले पाकिस्तानसँग ‘सबैभन्दा सुरक्षित’ परमाणु कमाण्ड एण्ड कन्ट्रोल सिस्टम रहेको दाबी गरेका छन्। बाइडेनको बयानपछि अमेरिकाप्रति पाकिस्तानमा आक्रोश छ। अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डल ट्वीटरमा ट्याग गर्दै इमरान खानले भनेका छन्, ‘मसँग दुईवटा प्रश्न छन्, पहिलो– कुन सूचनाका आधारमा अमेरिकी राष्ट्रपतिले हाम्रो आणविक क्षमताको बारेमा यस्तो अनुचित निष्कर्षमा पुगे, म प्रधानमन्त्री थिएँ। थाहा छ हामीसँग सबैभन्दा सुरक्षित परमाणु कमाण्ड र नियन्त्रण प्रणाली छl दोस्रो – विश्वभर युद्धमा संलग्न अमेरिका जस्तो नभई पाकिस्तानले खासगरी आणविक शक्ति प्राप्त गरेपछि कहिले आक्रामकता देखाएको छ?’
‘बाइडेनको कथनले आयातित सरकारको विदेश नीति र अमेरिकासँगको सम्बन्ध सुधार गर्ने दावीको असफलता झल्काउँछ’, खानले भने। ‘के यो सम्बन्ध सुधारिएको छ? यो सरकारले अयोग्यताका सबै रेकर्ड तोडेको छ। मेरो सबैभन्दा ठूलो चिन्ता भनेको सेतोकलर अपराधीहरूलाई देश लुट्ने लाइसेन्स दिएर हामीलाई आर्थिक विनाशतर्फ धकेल्नुको साथै यो सरकारले हाम्रो राष्ट्रिय सुरक्षामा पनि पूर्ण रूपमा सम्झौता गर्नेछ’, उनले भने। यसअघि बाइडेनले एक कार्यक्रममा भनेका थिए, ‘मलाई लाग्छ पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देश मध्ये एक हो। योसँग परमाणु हतियार छ तर कुनै सुरक्षा बिनाl’ बाइडेनको भनाइप्रति प्रतिक्रिया दिँदै पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले आफू स्तब्ध भएको बताएका छन्। उनले पाकिस्तानले आणविक हतियारका सम्बन्धमा विश्वव्यापी मापदण्डको पालना गरिरहेको दाबी गरे। रिपोर्टका अनुसार पाकिस्तानले अमेरिकी राजदूत डोनाल्ड ब्लोमलाई बोलाएर आधिकारिक रूपमा बयानको विरोध गरेको छ।