विश्वविद्यालयको दीक्षान्त समारोह र सिक्किम पुलिसको विशेष कार्यक्रममा सहभागी हुने
गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय आधिकारिक भ्रमणका लागि भोलि (मङ्गलवार), २६ मईदेखि सिक्किम आउने भएकी छन्। राष्ट्रपतिको यस गरिमामय भ्रमणलाई लिएर राजधानी गान्तोकमा सुरक्षाको कडा बन्दोबस्त मिलाइनुका साथै व्यापक तयारी पूरा गरिएको छ।
प्राप्त जानकारी अनुसार, राष्ट्रपति मुर्मू भोलि हेलिकप्टरमार्फत राजधानी नजिकै रहेको लिबिङस्थित भारतीय सेनाको हेलिप्याडमा अवतरण गर्नेछिन्। त्यसपछि उनी सिधै लोकभवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
सिक्किम केन्द्रीय विश्वविद्यालयको सातौँ दीक्षान्त समारोह
भ्रमणको दोस्रो दिन अर्थात् २७ मई, २०२६ का दिन राष्ट्रपति मुर्मूले सिक्किम केन्द्रीय विश्वविद्यालयको सातौँ दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनेछिन्। विश्वविद्यालयका रजिस्ट्रारद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, विश्वविद्यालयकी ‘भिजिटर’ समेत रहेकी राष्ट्रपति मुर्मूको समुपस्थितिमा हुने उक्त समारोहमा सिक्किमका राज्यपाल एवं विश्वविद्यालयका चीफ रेक्टर ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्।
विश्वविद्यालय प्रशासनका अनुसार यस पटकको दीक्षान्त समारोहमा इतिहासकै ठूलो सङ्ख्यामा अर्थात् १३ हजार ७ सय ८२ विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ। यसमा शैक्षिक वर्ष २०२३, २०२४ र २०२५ का विश्वविद्यालय अन्तर्गतका ६ वटा ‘स्कूल अफ स्टडीज’ र १८ सम्बद्ध कलेजका ३३ वटा विभागका स्नातक, स्नातकोत्तर, एम.फिल र पीएच.डी तहका विद्यार्थीहरू सामेल छन्।
उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने २ सय ८५ मेधावी विद्यार्थीहरूलाई स्वर्ण र रजत पदकद्वारा सम्मानित गरिनेछ, जसमा महिला विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य (१ सय ९९ जना) रहेको छ। यसका साथै, समारोहमा ९ वटा विशेष पदकहरू पनि वितरण गरिने जनाइएको छ।
सिक्किम पुलिसको ‘प्रेसिडेन्ट कलर’ र नथुला भ्रमण
भ्रमणको अन्तिम दिन, २८ मईका दिन राष्ट्रपति मुर्मूले सिक्किम पुलिसको ऐतिहासिक ‘प्रेसिडेन्ट कलर’ अलङ्करण समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनेछिन्। यो विशेष समारोह राजधानीको पाल्जोर स्टेडियममा भव्य रूपमा आयोजना हुनेछ।
सिक्किम बसाइँकै क्रममा राष्ट्रपति मुर्मूले भारत-चीन सीमा क्षेत्रमा अवस्थित प्रसिद्ध पर्यटकीय तथा रणनीतिक स्थल नथुलाको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको आधिकारिक स्रोतले जनाएको छ।










