कोलकाता: तुलुमुल कंग्रेस (टीएमसी) का सांसद अभिषेक बनर्जीको निवासमा सोमबार दिउँसो अचानक पुलिस पुगेपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। सादा पोशाक र वर्दीमा आएका पुलिस टोली केही समय निवासभित्र बसेर अनुसन्धान गरेपछि एउटा कम्प्युटर मनिटर लिएर बाहिरिएका छन्। पुलिस बाहिरिएलगत्तै घरको ग्यारेजबाट एउटा गाडी पनि बाहिर निस्किएको थियो, जुन ‘लिप्स एन्ड बाउन्ड्स’ कम्पनीको नाममा दर्ता रहेको बताइएको छ।
यस आकस्मिक कारबाहीको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन। लालबजार (कोलकाता पुलिस मुख्यालय) का वरिष्ठ अधिकारीहरूले पनि यस मामिलामा अनभिज्ञता प्रकट गरेपछि घटना थप रहस्यमय बनेको छ।
सुरक्षा कटौतीपछि राजनीतिक सरगर्मी
चुनावको नतिजा सार्वजनिक भएयता अभिषेक बनर्जीको सुरक्षामा लगातार कटौती भइरहेको छ। उनको निवास वरपरका गार्डरेल, हाई-टेक स्क्यानर र उच्च तहको ‘जेड प्लस’ सुरक्षा समेत हटाइइसकेको छ। वर्तमान समयमा उनलाई एक साधारण सांसदका रूपमा मिल्ने न्यूनतम सुरक्षा मात्र उपलब्ध गराइएको छ।
प्रशासनले यो कदम केन्द्र सरकारको निर्देशिका अनुसार चालिएको दाबी गरे पनि, सुरक्षा कटौतीको लगत्तै भएको यो पुलिस उपस्थितिले “पर्दा पछाडि के पाकिरहेको छ?” भन्ने गम्भीर प्रश्नहरू उब्जाएको छ।










