सरकारी फेयर प्राइस दाेकानहरूलाई नयाँ ईपीओएस उपकरण र तौल मेसिन वितरण

n7129946651779299171234acc04f43a361a98f4c13950d5a4e0bd951a36f2eaa855fdce36fa8da9e934fd8

वितरण प्रणालीमा पारदर्शिता ल्याउने लक्ष्य

सोरेङ: ​खाद्य एवम् नागरिक आपूर्ति विभाग, सोरेङ जिल्लाको तत्त्वावधानमा आज कलुक फूड गोडाउनमा एक विशेष कार्यक्रमको आयोजना गरी कलुक र ताकुथाङ फूड गोडाउन अन्तर्गत सञ्चालित सरकारी फेयर प्राइस दाेकानहरूलाई नयाँ इलेक्ट्रोनिक पोइन्ट अफ सेल (ईपीओएस) उपकरण तथा तौल मेसिन वितरण गरिएको छ। सोरेङ जिल्लाका खाद्य तथा नागरिक आपूर्ति अधिकारी जसमान सुब्बाको नेतृत्वमा यो कार्यक्रम सम्पन्न भएको हो।
​यस अवसरमा कलुक फूड गोडाउनका निरीक्षक चाङ्खा मान सुब्बा, ताकुथाङ फूड गोडाउनकी निरीक्षक सुनिता गुरुङ, निरीक्षक रत्न बहादुर सुब्बा, राज्य प्राविधिक सन्तमान सुब्बा, प्राविधिक बिकाश सुब्बाका साथै दुवै फूड गोडाउन अन्तर्गतका सम्पूर्ण एफपीएस सञ्चालकहरूको उपस्थिति रहेको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खाद्य तथा नागरिक आपूर्ति अधिकारी जसमान सुब्बाले नयाँ प्रविधियुक्त ईपीओएस उपकरणले सार्वजनिक वितरण प्रणालीमा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले एफपीएस सञ्चालकहरूलाई यी नयाँ उपकरण तथा तौल मेसिनहरूको सही प्रयोग र सञ्चालनका बारेमा आवश्यक प्रशिक्षण तथा निर्देशनसमेत दिए।
​कार्यक्रमको क्रममा राज्य प्राविधिक सन्तमान सुब्बाले ईपीओएस मेसिनको प्रत्यक्ष प्रदर्शन गर्दै यसको सञ्चालन प्रक्रिया र प्राविधिक विशेषताहरूबारे डिलरहरूलाई विस्तृत जानकारी गराएका थिए। यस नयाँ प्रविधिको सुरुवातसँगै सोरेङ जिल्लाभर सार्वजनिक वितरण प्रणालीमा डिजिटल सेवा प्रवाह अझ सुदृढ़ बन्ने र पारदर्शितामा वृद्धि हुने अपेक्षा गरिएको छ।
​यो वितरण कार्यक्रम जिल्लाका विभिन्न स्थानहरूमा तीन दिनसम्म निरन्तर सञ्चालन गरिने विभागले जनाएको छ। कलुकमा पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ भने यसको दोस्रो चरण भोलि सोरेङमा र अन्तिम चरण सोम्बारियामा आयोजना गरिनेछ।

About Author

Advertisement